Main News

राहत, क्षतिपूर्ति र पुनःनिर्माणमा ढिलाइ नगर्न मन्त्री ज्वालाको निर्देशन

२०८० असार १६ गते १४:३५
राहत, क्षतिपूर्ति र पुनःनिर्माणमा ढिलाइ नगर्न मन्त्री ज्वालाको निर्देशन

१६ असार २०८० पाँचथर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बाढी पहिरोबाट उत्पन्न विषम परिस्थितिमा राहत तथा क्षतिपूर्ति वितरण तथा पुनःनिर्माण कार्यमा ढिलाइ नगर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।

असार पहिलो साता पाँचथरमा बाढी र पहिरोले पु¥याएको क्षतिको निरीक्षणका लागि आज पाँचथरको फिदिम आउनुभएका मन्त्री ज्वालाले जिल्ला प्रशासन कार्यालयमा आयोजित भेटघाट कार्यक्रममा राहत, क्षतिपूर्ति र पुनःनिर्माणमा कुनै पनि प्रकारको ढिलाइ नगर्न सरोकारवाला निकायलाई निर्देशन दिनुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित सरकारको टोलीले स्थलगत बाढी पहिरोको क्षतिको निरीक्षण गर्न नपाएका कारण आफू सरकारको प्रतिनिधिका रुपमा आएको जनाउँदै उहाँले सबै मन्त्रालय मातहतका निकायलाई तदारुकताका साथ लाग्न आग्रह गर्नुभयो । “राहत, क्षतिपूर्ति र पुनःनिर्माणको काम नियमित काम जस्तो होइन, यसमा ढिलाइ हुनु हुँदैन”, मन्त्री ज्वालाले भन्नुभयो, “अहिले सबै स्रोतसाधनको प्रयोग गरेर तदारुकताका साथ काम गरी आधारभूत सेवाबाट बञ्चित नागरिकका लागि सरकारी निकायले काम गर्नुपर्छ ।”

उहाँले बाढी पहिरोका कारण भएको क्षतिको विवरण सङ्कलन, राहत र क्षतिपूर्तिका लागि प्रशासन तथा स्थानीय तहले सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो । यस्तै पाँचथरमा बाढीमा परी बेपत्ता रहेका तीन जनाको खोजी कार्यलाई नियमित गर्न पनि उहाँले सुरक्षा निकायलाई निर्देशन दिनुभयो ।

यही असार २ गते आएको बाढीले क्षति पु¥याएका मेची राजमार्ग, तमोर करिडोर र पुष्पलाल (मध्यपहाडी) राजमार्गको अनुगमनका लागि मन्त्री ज्वालासहितको टोली यहाँ आएको हो । उहाँले मेची राजमार्गअन्तर्गत हेंवा खोलामा बेलिब्रिज निर्माण कार्यलाई चाँडो सम्पन्न गर्न निर्देशन दिनुभयो । उहाँले सो स्थानमा पक्की पुल निर्माणका लागि चाँडै ठेक्का प्रक्रिया अघि बढाइने पनि बताउनुभयो ।

बाढीले बगाएको तमोर करिडोरको माझीटारस्थित बेलिब्रिज र मध्यपहाडी राजमार्गको दोभानेस्थित सडक पुल रहेका स्थानमा बेलिब्रिज निर्माण गर्ने वा सडक पुल नै बनाउने भन्ने पनि चाँडो यकीन गरेर कार्य थालिने बताउनुभयो ।

सो क्रममा पाँचथरका प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री वसन्तकुमार नेम्वाङले बाढी र पहिराका कारण धेरै भौतिक संरचनामा क्षति पुग्दा नागरिकले समस्या झेल्नुपरेको जनाउँदै पुनःनिर्माण चाँडो अघि बढ्नुपर्ने बताउनुभयो । “फालेलुङ गाउँपालिकाभित्रै दुई वटा सडकमा पुल बग्दा नागरिकलाई सास्ती छ, सरकारको ध्यान मुख्य राजमार्गका अतिरिक्त अन्य संरचनामा पनि पुग्नुपर्छ”, उहाँले भन्नुभयो, “घरबार, खेतीपाती, जग्गा, जमिन, पशुपक्षी तथा अन्य संरचनामा क्षति भोगेका जिल्लावासीलाई चाँडो राहत र क्षतिपूर्ति दिन मैले बारम्बार सरकारको ध्यानाकर्षण गराउँदै आएको छु ।”

मन्त्री ज्वालाका साथ पूर्वमन्त्री नेम्वाङ, सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल, सडक विभागका उपमहानिर्देशक रामहरि पोखरेललगायत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतका विभिन्न निकायका अधिकारी सहभागी हुनुहुन्छ । मन्त्री ज्वालाको टोलीले आज र आइतबार यहाँका क्षतिग्रस्त सडक तथा अन्य संरचनाको निरीक्षण गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी मेखबहादुर मङ्ग्रातीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *