पाँच दिन किताब, एक दिन सीप (भिडियो रिपोर्टसहित)
१५ असार २०८० काठमाडौं । काठमाडौं महानगरपालिकाका सामुदायिक विद्यालयमा बुक फ्रि फ्राइ डे सञ्चालन भइरहेको छ ।
शिक्षालाई सीपसँग जोड्ने उद्देश्यका साथ सामुदायिक विद्यालयमा हप्ताको एक दिन शुक्रबार बुक फ्रि फ्राइडे गरिएको हो । शुक्रबार विद्यार्थी नियमित समयमै विद्यालय जान्छन् र अतिरिक्त क्रियाकलाप गरेर व्यवहारिक ज्ञान लिएर घर फर्कन्छन् ।
यो विश्व निकेतन माध्यामिक विद्यालय त्रिपुरेश्वरको । यहाँ विद्यार्थीलाई विभिन्न किसिमको सीप सिकाइको छ । विद्यार्थी पनि सीप सिक्न पाउँदा खुसी छन ।
काठमाडौं महानगरपालिकाले यो शैक्षिक सत्रदेखि बुक फ्रि फ्राइडे कार्यक्रम सञ्चालन गरेको हो । शुक्रबार विद्यालय जाँदा विद्यार्थीलाई किताब बोक्नु पर्दैनन ।
नियमित समयमै विद्यालय जाने विद्यार्थी अन्य अतिरिक्त क्रियाकलाप गरेर व्यवहारिक ज्ञान लिएर घर फर्कन्छन् । विद्यार्थीको व्यक्तित्व विकासमा सैद्धान्तिक सँगसँगै व्यवहारिक ज्ञानको आवश्यकता पर्ने भन्दै काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयमा बुक फ्रि फ्राइडेको थालनी गरेको हो ।
हरेक शुक्रबार विद्यार्थीले कृषि, हाउस वायरिङ, सौन्दर्य, मोबाइल तथा इलेक्ट्रोनिक्स, काठसम्बन्धी तालिम, प्लम्बिङ फेसन डिजाइन, कविता लेखन, निबन्ध लेखन, पाक कला सिक्न पाउँछन । यी विषयका प्रशिक्षक विद्यालयलाई महानगरले नै उपलब्ध गराएको छ । यो कार्यक्रमले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाएको छ ।
काठमाडौं महानगरमा ८९ सामुदायिक विद्यालय छन् । त्यसमा ५९ माध्यमिक विद्यालय र ३० आधारभूत विद्यालय छन् । यी विद्यालयमा ५२ हजार विद्यार्थी अध्ययन गर्दछन् ।
महानगरले कक्षा १ देखि १२ सम्म अध्ययनरत विद्यार्थीलाई विभिन्न १० वटा विषयमा आधारित रहेर सीपमूलक शिक्षा प्रदान गरेको छ। पाठ्यपुस्तकबाट प्राप्त हुने सैद्धान्तिक ज्ञानसँगै जीवनोपयोगी, सीपमूलक तथा व्यवहारिक शिक्षा प्रदान गर्ने उद्देश्य महानगरले राखेको छ।
महानगरले ल्याएको कार्यक्रमबाट अपेक्षित लाभ लिनका लागि यसको कार्यान्वयन र अनुगमन पक्षलाई ध्यान दिनुपर्ने आवश्यकता देखिन्छ। सीपमूलक शिक्षा परीक्षणका लागि भन्दा निरन्तरताका लागि हुनु पर्दछ ।
प्रतिक्रिया