Main News

उपप्रधानमन्त्री श्रेष्ठसँग सिचुवान विश्वविद्यालय कमिटीका महासचिव लिङको भेट

२०८० असार १५ गते १३:०९
उपप्रधानमन्त्री श्रेष्ठसँग सिचुवान विश्वविद्यालय कमिटीका महासचिव लिङको भेट

१५ असार २०८० छेन्दु (चीन) । जनवादी चीनको भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग चिनियाँ कम्युनिष्ट पार्टी सिचुवान विश्वविद्यालय कमिटीका महासचिव लिन कानले आज भेट गर्नुभएको छ ।

छेन्दुस्थित सिचुवान विश्वविद्यालयमा भएको सो भेटमा उहाँहरुबीच नेपाल–चीन सम्बन्धका विविध विषयमा छलफल भएको छ । सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले दुई देशको सम्बन्धलाई थप प्रगाढ बनाउन विश्वविद्यालयले खेलेको भूमिकाको प्रंशसा गर्नुभयो ।

उहाँले आगामी दिनमा विभिन्नस्तरबाट नेपाल–चीन सम्बन्धलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । उपप्रधानमन्त्री श्रेष्ठले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय एकताको पक्षमा चीन सदैव उभिँदै आएको स्मरण गर्दै नेपालको विकासमा चीनको निरन्तर साथ र सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।

भेटमा महासचिव कानले आगामी दिनमा दुई देशबीचको सम्बन्धलाई नजिक ल्याउन विश्वविद्यालयले थप योगदान गर्ने विश्वास दिलाउनुभयो । विश्वविद्यालयले विज्ञान, प्रविधिलगायत विधामा शिक्षा प्रदान गरेर नेपालको मानव संशाधन विकासमा सहयोग गरेको जानकारी गराउनुभयो ।

उहाँले विश्वविद्यालयले विभिन्न कार्यशालाको आयोजना गरी नेपालबाट शिक्षासँग सम्बन्धित व्यक्ति तथा राजनीतिक दललाई आमन्त्रण गरेर नेपाल–चीन सम्बन्धका विविध आयामबारे छलफल गर्दै आएको बताउनुभयो ।

महासचिव कानले विश्विद्यालयले दक्षिण एसिया अध्ययन केन्द्र सञ्चालन गरेर नेपाल भारत, पाकिस्तानलगाय मुलुकुको अध्ययन सुरु गरेको उल्लेख गर्दै उहाँले विश्वविद्यालयमा नेपाल अध्ययन केन्द्र खोलेर अध्ययन गरिएको जानकारी दिनुभयो ।

भेटमा नेपालका तर्फबाट उपप्रधानमन्त्री श्रेष्ठ, परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापा, गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्मा, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव महेश बराल र छेन्दुस्थित नेपाली महावाणिज्यदूत दिनेशकुमार घिमिरेलगायत सहभागी हुनुहुन्थ्यो ।

सो क्रममा उहाँले विश्विद्यालयको जलविद्युत् अध्ययन केन्द्रको अवलोकन गर्नुभएको थियो । सो केन्द्रमा उच्च बाँध भएको जलाशयुक्त जलविद्युत् परियोजना निर्माणसम्बन्धी अनुसन्धान हुँदै आएको छ । सो अवसरमा केन्द्रले गर्दै आएको कामका बारेमा जानकारी दिइएको थियो ।

त्यसअघि उपप्रधानमन्त्री श्रेष्ठले सिचुवान विश्वविद्ययमा अध्ययनरत विद्यार्थीमाझ नेपाल–चीन सम्बन्ध, विश्वपरिवेशलगायत विषयमा सम्बोधन मन्तव्य दिनुभएको थियो ।

विश्वविद्यालय परिसरमा नेपाली, चिनियाँ तथा विदेशी विद्यार्थीले उपप्रधानमन्त्री श्रेष्ठको भव्य स्वागत गरेका थिए । सो विश्वविद्यालयमा हाल ६६ विद्यार्थीले विभिन्न विषय अध्ययन गरिरहेका छन् । पछिल्लो १० वर्षमा मात्रै करिब छ सय विद्यार्थीले सो विश्वविद्यायबाट उच्च शिक्षा हासिल गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *