Main News

विपदमा परेकाको नागरिकको तत्काल उद्धार गर्न सांसदको माग

२०८० असार १३ गते १३:२७
विपदमा परेकाको नागरिकको तत्काल उद्धार गर्न सांसदको माग

१३ असार २०८० काठमाडौं । सांसदहरुले मनसुनी विपद्जन्य घटना, वैदेशिक रोजगारीमा जाने नेपालीको विपद्, ललिता निवास जग्गा प्रकरणलगायत मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधिसभाको आजको आकस्मिक समयमा बोल्दै सांसद योगेशकुमार भट्टराईले पूर्वी पहाडका जिल्लामा भएको विपद्जन्य घटनाका पीडितलाई राहत उपलब्ध गराउन र अवरुद्ध सडक पुनः सञ्चालन गराउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँका अनुसार गत जेठ ३२ गतेको अविरल वर्षाले पूर्वी पहाडका जिल्लामा भएको विपद्जन्य घटनामा सङ्खुवासभामा २४, ताप्लेजुङमा ६ र पाँचथरमा ६ जनाको मृत्यु भएको छ ।

उहाँले भन्नुभयो, “घटनालगत्तै प्रधानमन्त्रीले स्थलगत निरीक्षण पनि गर्नुभयो । सम्बन्धित मन्त्री र सम्बन्धित निकायको पनि ध्यानाकार्षण भएको अवस्थामा अहिले पनि प्रभावकारी काम हुन सकेन । आवश्यक जनशक्तिको व्यवस्थापन गरी तत्काल काम अघि बढाउन सरकारसमक्ष माग गर्दछु । ”

उहाँले ताप्लेजुङ जोड्ने मुख्य तीन राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको, मेची राजमार्ग सञ्चालन हुन नसकेको बताउनुभयो । उहाँले पाँचथरको हेवा खोलामा बेबिब्रिज बनिनसकेकाले ताप्लेजुङको सम्बन्ध सम्पूर्ण रुपले विच्छेद भएको सदनलाई जानकारी गराउँदै तत्काल प्रभावकारी काम गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनुभयो ।

सांसद प्रदीप पौडेलले विदेशमा रहेका नेपालीलाई आइपर्ने विपद्मा सरकारले सहजीकरणको व्यवस्था मिलाउन आग्रह गर्नुभयो । उहाँले हालै मलेसियामा रोजगारीका क्रममा भएको यामलाल परियारको मृत्यु भएको र उनको शव नेपाल ल्याउन परिवारले सबैतिर याचना गरिरहेको जनाउँदै यस्तो संवेदनशील विषयमा सरकारले पहल गर्नुपर्ने बताउनुभयो । उहाँले विदेशमा रहेका नेपालीलाई विपद् पर्दा सरकारले सहजीकरण गर्ने गरी प्रणालीको विकास गर्न जरुरी रहेको, नेपालबाट वैदेशिक रोजगारीमा जाने नेपालीलाई विमानस्थलदेखि नै ट्र्याकिङ गर्ने व्यवस्था गर्न परराष्ट्र मन्त्रालयफमार्फत सम्बन्धित मुलुकमा सहायता कक्ष स्थापना गरेर विपद्मा परेका नेपालीको उद्धारका लागि सहजीकरण गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद भीम आचार्यले सरल ढङ्गले विदेश जाने विद्यार्थी र रोजगारीमा जानेका लागि सरल ढङ्गले राहदातिको व्यवस्था मिलाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले विदेशमा बस्ने नेपालको बालबालिकाले राहदानी पाउन नसकेको, एसिया प्यासिफिक, मध्यपूर्व र युरोप लगायतका मुलुकमा यस्तो बाध्यता रहेकाले सहजीकरणको वातावरण सिर्जना गर्न सराकारसमक्ष माग गर्नुभयो ।

सांसद प्रेम सुवालले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणका दोषीलाई पक्राउ गरी कानुनी कारबाही गरिनुपर्ने माग गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *