Main News

बालेनसँग सर्वोच्चले माग्यो लिखित जवाफ, उच्च अदालतले दियो राहत

तत्काल स्पष्टीकरण नलिन उच्च अदालतको आदेश

हिमालय टिभी
२०८० असार १२ गते १८:१६
बालेनसँग सर्वोच्चले माग्यो लिखित जवाफ, उच्च अदालतले दियो राहत

१२ असार २०८० काठमाडौं । अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहसँग लिखित जवाफ मागेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले प्रमुख साहविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गरेर लिखित जवाफ माग्न आदेश गरेको हो । उच्च अदालत, पाटनले भारतीय चलचित्र प्रदर्शन नरोक्न आदेश दिएपछि साहले सार्वभौमिकता र स्वाधिताको सवालमा कुनै कानुन र अदालतलाई नमान्ने टिप्पणी गर्नु भएको थियो ।

हिन्दी सिनेमा आदिपुरुषको प्रदर्शनीमाथि साहले लगाएको प्रतिबन्धविरुद्ध हल सञ्चालकहरूले दिएको निवेदनमा सुनुवाइ गर्दै उच्च अदालत पाटनले महानगरको निर्णय कार्यान्वयनमा रोक लगाएको थियो ।

यसैबीच, उच्च अदालत पाटनले काठमाडौं महानगरपालिका प्रमुख साहसँग स्पष्टीकरण माग गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयनमा नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीशहरु गोकर्ण डाँगी र जगदिश घिमिरेको इजलासले साहसँग स्पष्टीकरण माग गर्ने नागरिक उड्डयन प्राधिकरणको जेठ ३२ गतेको निर्णय र असार १ गतेको पत्र कार्यान्वयन नगरी यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्माणाधीन भवन नक्शापास बिना निर्माण भइरहेको भन्दै काठमाडौं महानगरपालिकाको नगर प्रहरीले त्यहाँको फेन्सिङ तार लगायतका सामग्री नियन्त्रणमा लिएको थियो । प्राधिकरणले विमानस्थल क्षेत्रमा अनधिकृत प्रवेश गरेको भन्दै साहसँग स्पष्टीकरण माग गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *