Main News

जिल्ला निर्वाचन कार्यालय खारेज हुँदैन : अर्थमन्त्री डा महत

२०८० असार १२ गते १३:२८
जिल्ला निर्वाचन कार्यालय खारेज हुँदैन : अर्थमन्त्री डा महत

१२ असार २०८० काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले जिल्ला निर्वाचन कार्यालयको स्वतन्त्र अस्तित्व कायम नै रहने स्पष्ट पार्नुभएको छ ।

प्रतिनिधिसभाको आजको पहिलो बैठकमा प्रतिपक्षी दलका सांसदहरुले उठाउनुभएको विषयमा स्पष्ट पार्दै अर्थमन्त्री डा महतले आफू लोकतन्त्र स्थापनाका लागि लडेको भन्दै आम नागरिकले निष्पक्ष र भयरहित वातावरणमा स्वतन्त्रतापूर्वक निर्वाचनमा भाग लिन पाउने मान्यताप्रति सरकार विचलित नहुने बताउनुभयो ।

“हामीले निर्वाचन आयोगको स्वतन्त्रतालाई कत्ति पनि तलमाथि पार्न दिँदैनौँ । यो हाम्रो विश्वास हो”, मन्त्री महतले भन्नुभयो, “जिल्ला निर्वाचन कार्यालयहरु अझ स्वतन्त्र र प्रभावकारी बनाउन पहल गरिनेछ, खारेज हुनेछैन ।”

यसअघि आजको बैठकमा नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले जिल्ला निर्वाचन कार्यालय खारेज गरी सिडिओ कार्यालयमातहत ल्याउने प्रस्तावको विरोध गर्नुभएको थियो । उहाँहरुको विरोधपछि बैठक १५ मिनेटका लागि स्थगित भएको थियो ।

अर्थमन्त्री महतले निर्वाचन आयोगको स्वतन्त्र अस्तित्वको पक्षमा आफूहरु अडिग रहेकाले यसमा कुनै शङ्का उत्पन्न हुन नदिन सरकारको सम्पूर्ण कोसिस रहने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले आगामी आर्थिक वर्षको बजेटमा विभिन्न कार्यालयको पुनरावलोकन गर्ने क्रममा जिल्ला निर्वाचन कार्यालयको सन्दर्भ उल्लेख गरिएको दाबी गर्नुभयो ।

अर्थमन्त्री डा महतले आर्थिक मितव्ययीताका लाागि कतिपय कार्यालयका सम्बन्धमा निष्कर्षमा पुग्नुपरेको भए पनि जिल्ला निर्वाचन कार्यालय ‘खारेजी’ भन्ने शब्दावली बजेट वक्तव्यमा पर्न गएकोे बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *