Main News

भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ

हिमालय टिभी
२०८० असार १२ गते १३:०८
भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ

१२ असार २०८० काठमाडौं । भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले गुरुङलाई नक्सालस्थित निवासबाट पक्राउ गरेको हो। बालुवाटारस्थित ललिता निवासको २९९ रोपनी ३ आना सरकारी जग्गा हिनामिना प्रकरणमा आरोपित गुरुङ प्रहरीको फरार सूचीमा थिए ।

२०७७ सालमा विशेष अदालतले गुरुङसँग दुई करोड रुपैयाँ धरौटी माग गरेको थियो । मुद्दा दायर भएको एक वर्षपछि उनी अदालतमा उपस्थित भएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पूर्व उपप्रधानमन्त्री, पूर्वमन्त्री, तत्कालीन आयोगका आयुक्तसहित १७५ जनाविरुद्ध २०७६ मंसिरमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

मुद्दामा भाटभटेनीका सञ्चालक गुरुङमाथि अख्तियारले ३९ करोड २७ लाख रुपैयाँ बिगो दाबी गरेको छ। ललिता निवास जग्गा प्रकरणमा गुरुङले शोभाकान्त ढकाल, रामप्रसाद सुवेदी तथा मालपोत कार्यालयका हुपेन्द्रमणि केसी र टीका घिमिरेसँगको मिलोमतोमा सबैभन्दा धेरै जग्गा खरिद गरेको पाइएको थियो ।

यस प्रकरणमा सीआईबीले डेढ वर्षअघि नै अनुसन्धान टुंग्याएर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाए पनि थप अनुसन्धान आवश्यक पर्ने भन्दै फाइल फिर्ता गरेको थियो । त्यसपछाडि अनुसन्धान रोकिएकोमा अहिले ब्युरोले फाइल खोलेर आरोपितलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *