राजनीति

कांग्रेस र एमाले समीकरण : माधव नेपाल ‘निम्छरो अभिव्यक्ति (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० असार १० गते २०:४१
कांग्रेस र एमाले समीकरण : माधव नेपाल ‘निम्छरो अभिव्यक्ति (भिडियो रिपोर्टसहित)

१० असार २०८० काठमाडौं । सत्ता साझेदारी गर्ने गरी नेपाली कांग्रेस र नेकपा एमाले नजिकिन थालेको चर्चा छ। दुबैतर्फका कतिपय नेताले ‘राजनीतिमा केही असंभव नहुने’ भनेर त्यसतर्फ घुमाउरो संकेत पनि गरेका छन्। तर, उनीहरु मुर्तरुपमा खुल्न सकेका छैनन्।

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको ठोकुवाले चाहिँ कांग्रेस–एमाले निकै अगाडि बढिसकेका हुन् कि भन्ने शंकामै बल पुर्याउँछ। अध्यक्ष नेपालले दाबी गरेका छन्– ‘केपी ओली पुँजीवादी कांग्रेससँग मिलेर सरकार बनाउने तयारीमा छन्।

असार ८ गते शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सरकार परिवर्तनको चलखेल भइरहेको र कांग्रेस–एमाले नजिकिएको दाबी गरे। नेपालले नेपालले सनसनी सूचना जसरी सुनाए– ‘ओली कम्युनिष्ट सरकार ढालेर दलाल पुँजीवादी कांग्रेससँग सरकार बनाउन तयारीमा छन्।’

(नेकपा एमालेका अध्यक्ष केपी ओली अहिले बर्बराइरहेको तपाईहरुले सुनिरहनुभएको छ। कस्तो बिडम्वना होला, कस्तो चरित्र होला, अहिले कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा रहेको सरकारलाई ढालेर शेरबहादुर, दलाल पुँजीवादसँग उदार पुँजीवादसँग, काल्पनिक समाजवादसँग मात्र आफूलाई जोडेका छन्। उसलाई अघि बढाउन खोजिरहेका छन्।’)

सुन्नु भो नि, माधव नेपालले के भने ! उनले भनेका छन्– ‘कम्युनिष्ट पार्टीका अध्यक्षको नेतृत्वमा रहेको सरकार ढालेर शेरबहादुर, दलाल पुँजीवादसँग, उदार पुँजीवादसँग, काल्पनिक समाजवादसँग ।… यानत्यान।’

नेपालले कांग्रेसलाई ‘दलाल पुँजीवादी’ भनेका छन्। जबकि, कांग्रेसकै कारण उनी र उनी नेतृत्व दलको राजनीतिक ‘स्पेश’ बँचेको हो। कांग्रेसले चुनावी गठबन्धनमा नअटाएको भए र हालको सत्तामा हिस्सेदारी अस्वीकार गरिदिएको भए आफू कहाँ भइन्थ्यो भन्ने हेक्कासमेत नराखी माधव नेपालले कांग्रेसप्रति टिप्पणी गरेका छन्। जुन खोला तरेपछि लौरो बिर्सिएजस्तै हो।

माधव नेपालले अर्को कुरा पनि भनेका छन्– ‘कम्युनिष्टको सरकार ढालेर …’
अब केही समय पछाडि फर्कौ है त !

२०७४ को निर्वाचन लगत्तै एमाले र माओवादी मिलेर नेकपा बनेपछि केपी ओली नेतृत्वको सरकार झण्डै दुईतिहाईको थियो। सत्ता स्वार्थ र नेकपामा आएको शक्ति सुन्तुलनको फेरबदलका कारण केपी ओलीले दुई–दुईपटक संसद विघटन गरे। परिणामतः यिनै माधव नेपालहरु सडक संघर्ष हुँदै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको परमादेश माग्दै सर्वोच्च अदालत गए। अदालतले देउवालाई प्रधानमन्त्री बनाउन परमादेश पनि दियो।

हिजो कम्युनिष्ट पार्टीकै प्रधानमन्त्री ओली हुँदा सरकार ढाल्न संसदीय मूल्य–मान्यताबाहिर गएर देउवालाई बोकेका माधव नेपाल आज उनै देउवालाई पुँजीवादी दलाल देख्दैछन्। अनि, हिजो ओलीको कम्युनिष्ट सरकार ढाल्नै पर्ने माधव नेपाल आज पुष्पकमल दाहालको सरकार ढाल्ने तयारी भयो भनेर रोइकराई गर्दैछन्।

आफ्नो अस्तित्व बाँचेपछि मान्छेले बिगत बिर्सन्छ। र, अस्तित्वको निरन्तरताका लागि जायज÷नाजाय सम्झौता गर्छ। माधव नेपाल अहिले ठ्याक्कै त्यही ठाउँमा आइपुगेका छन्। हिजो कांग्रेसले जस्तै आउँदो चुनावमा समाजवादी मोर्चाले बैतरणी तारिदिने वातावरण बनाउन माधव नेपालले अहिल्यैदेखि देउवाको विरोध र प्रचण्डको चाकडी गर्न थालेको विश्लेषण हुन थालेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्