राजनीति

राप्रपाले प्रवासी नेपाली समाजको अधिवेशन गर्ने

२०८० असार १० गते १४:३९
राप्रपाले प्रवासी नेपाली समाजको अधिवेशन गर्ने

१० असार २०८० काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट प्रवासी नेपाली एकता समाज (पानस)को अन्तर्राष्ट्रिय भेलाले आगामी कात्तिक १० र ११ गते अन्तर्राष्ट्रिय समितिको अधिवेशन नेपालमा गर्ने निर्णय गरेको छ ।

राप्रपाका ४० भन्दाबढी देशमा रहेका सङ्गठनका प्रतिनिधिले भर्चुअल बैठकबाट गरेको छलफलमा आगामी भदौ ११ गतेभित्र राष्ट्रिय समन्वय समितिको अधिवेशन सम्पन्न गर्ने निर्णय गरिएको हो । विभिन्न देशमा हुने राष्ट्रिय समन्वय समितिको अधिवेशनमा पार्टीको नेतृत्व तहको कार्यतालिका बनाइ सहभागी गराउने विषयमा पनि बैठकमा छलफल भएको छ ।

विश्वका विभिन्न देशमा रहेका प्रवासी नेपाली एकता समाजका अगुवा कार्यकर्ताको भेलालाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन गर्दै पार्टीको एजेन्डाका पक्षमा प्रवासमा रहेका नेपालीको चासो, चिन्ता र सरोकारले पार्टीको वैचारिक पक्ष सबल बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

मुलुकको विकास र समृद्धिका लागि प्रवासमा रहेका नेपालीको सहयोग र योगदानको सराहना गर्दै साङ्गठनिक विस्तारका लागि प्रवास विभाग, पानसको राष्ट्रिय र अन्तर्राष्ट्रिय समितिले आवश्यक कार्ययोजना बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । अन्तर्राष्ट्रिय समन्वय समिति (पानस)ले कार्यक्रमको संयोजन गरेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताउनुभयो ।

यसअघि काठमाडौँमा पानसको अन्तर्राष्ट्रिय समिति र केन्द्रीय प्रवास विभागको संयुक्त बैठकले राष्ट्रिय समन्वय समिति र अन्तर्राष्ट्रिय समितिको अधिवेशन गर्ने निर्णय गरेको पार्टीका प्रवास विभाग प्रमुख आनन्द अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्