राजनीति

प्रधानमन्त्रीले सांसद नचिनेपछि… (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० असार ८ गते १६:३५
प्रधानमन्त्रीले सांसद नचिनेपछि… (भिडियो रिपोर्टसहित)

८ असार २०८० काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को लापरवाहीका कारण प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग सांसदहरुको प्रत्यक्ष प्रश्नोत्तर फिक्का बन्यो ।

सभामुखले प्रश्न सोध्न अनुमति दिएका सांसदबारे नै प्रधानमन्त्री अनभिज्ञ देखिँदा संसदमा हाँसो फैलियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रश्नकर्ताको नाम घरीघरी सोध्न थालेपछि केही सांसदले आफ्नो परिचय दिएरै प्रश्न गरे।

प्रधानमन्त्री प्रचण्डले पटक पटक प्रश्नकर्ताको नाम सोधेपछि अन्तिम प्रश्नकर्ता सांसद अशोककुमार चौधरीले प्रधानमन्त्रीमाथि कटाक्ष नै गर्नुभयो । आफ्नो नाम अशोककुमार चौधरी रहेको बताउँदै नझुक्किनका लागि नोट गरेर राख्न आग्रह गर्दा संसदमा हाँसो गुञ्जियो ।

प्रतिनिधिसभा नियमावली २०७९ को प्रत्येक महिनाको पहिलो हप्ता प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम गर्ने व्यवस्थाअनुसासर शुक्रबारको बैठकमा प्रश्नोत्तर कार्यक्रम राखिएको थियो ।

प्रश्नोत्तरका लागि सभामुख देवराज घिमिरेले चार दिनअघि नै सांसदहरुसँग लिखित प्रश्न माग्नुभएको थियो । पहिले नै प्रश्न पाइसक्नुभएका प्रधानमन्त्री पूर्वतयारी सहित उपस्थित हुनुपर्ने थियो । तर संसद्मा फरक दृश्य देखियो। प्रधानमन्त्रीले आफूलाई प्रश्न गर्ने सांसदलाई चिन्न नसकेपछि सभामुख घिमिरेले सघाउनु पर्‍यो ।

पूर्वनिर्धारित कार्यक्रम भए पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आवश्यक तयारी गरेन । र संसद्‍मा अफ्ठेरो दृश्य देखियो ।

प्रधानमन्त्रीलाई प्रश्न सोध्न सभामुख घिमिरेले एमालेका अच्युत मैनाली र कांग्रेसका अजय चौरसियापछि कांग्रेसकी सांसद अञ्जनी श्रेष्ठलाई अनुमति दिनुभयो । जवाफ दिने क्रममा प्रधानमन्त्री अलमलिनुभयो ।

यो दृश्य फेरि दोहोरियो। प्रधानमन्त्रीले आफूलाई प्रश्न सोध्ने पूर्वमन्त्री एवम् कांग्रेसकी सांसद अम्बिका बस्नेतलाई चिन्न सक्नुभएन । अझ रोचक त सभामुख घिमिरेले प्रश्न सोध्ने सांसद अम्बिका बस्नेत भएको बताउँदा पनि प्रधानमन्त्रीमा अलमल देखियो।

प्रधानमन्त्रीले सांसद बस्नेतको लिखित प्रश्न नै हराएको बताउँदै फेरि सोध्न आग्रह गर्नुभयो र आफूले राम्रो तयारी गर्न नसक्दा यस्तो भएको भन्दै गल्ती स्वीकार गर्नुभयो ।

सांसदले प्रधानमन्त्रीलाई सोध्ने प्रश्न पहिले नै प्रधानमन्त्री कार्यालयमा संसद सचिवालयमार्फत पठाउने चलन छ । र सम्बन्धित मन्त्रालयबाट जवाफ लेखेर पठाउने गरिएको छ । तर प्रधानमन्त्री कार्यालय र उहाँको सचिवालयले यसबारे प्रधानमन्त्रीलाई समयमै खबर नदिँदा न सांसद चिन्न सक्नुभयो, न प्रश्नोत्तर प्रभावकारी बन्न सक्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्