Main News

प्राकृतिक प्रकोपको कहर : अप्ठेरोमा ताप्लेजुङवासी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० असार ७ गते ८:०१
प्राकृतिक प्रकोपको कहर : अप्ठेरोमा ताप्लेजुङवासी (भिडियो रिपोर्टसहित)

७ असार २०८० काठमाडौं । असार पहिलो साता आएको बाढी–पहिरोबाट पूर्वी पहाडमा जनधनको क्षति भयो। ताप्लेजुङ, संखुवासभा र पाँचथरमा १० जनाले ज्यान गुमाए। केही अझै बेपत्ता छन्। प्रभावकारीरुपमा तिनको खोजी गरिएको छैन।

प्रभावितसम्म तत्कालिन राहत पुर्‍याउन कठिन भइरहेको छ। कोसी प्रदेश सरकारले ज्यान गुमाउनेका परिवारलाई एकलाख रुपैयाँ दिने घोषणा त गरेको छ। तर, तत्कालिन बन्दोबस्तीका लागि प्रभावकारी योजना बनाउन सकिएको छैन। स्थानीय सरकारसमेत अलमलमा रहँदा प्रभावितका दिन कठिन बन्दैछन्।

अविरल वर्षापछि आएको बाढी र पहिरोले ताप्लेजुङ, संखुवासभा र पाँचथर अत्यधिक प्रभावित भएका छन् । सिदिङ्वा–६ मेहेलेमा पहिरोका कारण बेपत्ता भएका अझै भेटिएका छैनन् । सडक अवरुद्ध छन् । पुल भत्किएका छन् । पीडितलाई राहतका लागि हेलिकोप्टरको सहारा लिनुपरेको छ ।पहिरोबाट विस्थापित सिदिङ्वाका एक सय स्थानीय राहतको पर्खाइमा छन् ।

बुधबार सेनाको हेलिकोप्टरबाट चार दिनपछि बल्ल राहत सामग्री पठाइएको छ । तर लगिएको खाद्यान्न कति दिन टिक्छ टुंगो छैन । स्वास्थ्य सामग्रीको अभाव भएपछि पहिरोले पुरिएको स्वास्थ्य चौकीबाट समेत औषधी निकालेर घाइतेको उपचार गर्नुपर्ने अवस्था छ ।

पाँचथरको याङ्वरक–१, घोलाघरी क्षेत्र थिलथिलो भएको छ । २४ घरका ९७ जना विस्थापित भएका छन् । खाद्यान्न अभाव चलिरहेको छ । विस्थापित परिवारको संख्या ३ सय ३४ पुगेको छ । खाद्यान्न, ओढ्ने, ओछ्याउनेको अभाव छ ।

त्यसमाथि बुधबार दिउँसो पाँचथरको मेची राजमार्गस्थित कान्छिदोकानमा माथिदेखि आएको भेलले सडक अवरुद्ध बनाएको छ । माथिबाट लेदोसहितको पहिरो खसिरहँदा गाडी कुदाउने अवस्था छैन । सडक सञ्जाल अवरुद्धका कारण राहतमा समस्या छ ।

संखुवासभामा अविरल वर्षासँगै आएको बाढी–पहिरोले खाँदबारी–किमाथाङ्का सडकखण्ड अवरुद्ध छ । मकालु र भोटखोला गाउँपालिका जोड्ने खाँदबारी –किमाथाङ्का सडक ठप्प छ । मकालु–५ को मुढे र मकालु–३ मा पहिरो खसेको छ ।

पहिरो खस्ने क्रम नरोकिएका कारण सडक कहिले खुल्छ भन्ने यकिन हुनसकेको छैन । हेवा खोलामा आएको बाढीले बगाउँदा बेपत्ता भएका २२ जना अझै फेला परेका छैनन् । चैनपुर नगरपालिका ४ र पाँचखपन नगरपालिका–९ मा बाढीले भौतिक संरचनामा क्षति गरेपछि विस्थापित भएकालाई राहत दिन मुस्किल भइरहेको छ । जनप्रतिनिधि नै सरकारको सहयोगको अपेक्षा गरिरहेका छन् ।

भत्किएका पुल पुलेसा तत्काल बन्ने सम्भावना छैन । भौगोलिक विकटताका कारण बेपत्ताको उद्दार अझै हुन सकेको छैन । बाढीपहिरो ग्रस्त क्षेत्र भ्रमण गरेर राहतमा कुनै कसर बाँकी नराख्न प्रधानमन्त्रीले नै निर्देशन दिएका थिए । तर राहत नआउँदा पीडित मर्कामा छन् । संघीय र प्रदेश सरकारको अभाव खड्किरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *