Main News

पोखरा विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडान हुँदै

२०८० असार ६ गते ८:३८
पोखरा विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडान हुँदै

६ असार २०८० काठमाडौं । व्यावसायिकरूपमा सञ्चालनमा आएको छ महिनापछि कास्कीको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय उडान हुँदैछ । चिनियाँ विमान कम्पनी सिचुआन एयरलाइन्सले पोखरामा सिधा चार्टर्ड उडान भर्न लागेको हो ।

विमानस्थलका प्रमुख विक्रम गौतमका अनुसार चीनको छेन्दु–तियान्फु इन्टरनेशनल विमानस्थलबाट उडेको सिचुवान एयरलाइन्सको एयरबस ए–३१९ जहाज आज बिहान ९ः३० बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसहितले पहिलो अन्तर्राष्ट्रिय उडानबाट पोखरा ओर्लने यात्रुलाई स्वागत गर्ने कार्यक्रम रहेको छ ।

पर्यटनमन्त्री किरातीले चीनबाट आउने चार्टर्ड उडानलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न पाउँदा उत्साहित भएको बताउनुभएको छ । उहाँले पर्यटकले पोखराका सबै होटल खचाखच भएको सुन्न पाउँदा हर्षित भएको सामाजिक सञ्जालमा व्यक्त गर्नुभएको छ ।

उक्त जहाजबाट हाल चीन भ्रमणमा रहनुभएका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितको नेपाली टोली तथा आगामी शुक्रबार र शनिबार पोखरास्थित फेवातालमा हुनलागेको ‘नेपाल–चीन फ्रेन्डसीप ड्रागन बोट फेस्टिभल’मा सहभागी हुने चिनियाँ खेलाडी तथा पर्यटक गरी एक सय ३५ यात्रु पोखरा ओर्लने बताइएको छ । सिचुवान एयरलाइन्सको जहाज पोखरामा करिब एक घन्टा रोकिएर त्यसपछि मध्याह्न काठमाडौँ उड्ने गरी उडान तालिका तय गरिएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल गत जनवरी १ (पुस १७ गते) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभएको थियो । विमानस्थल रु २२ अर्ब लगानीमा निर्माण भएको हो । विमानस्थल उद्घाटनको दिन हिमालय एयरलाइन्सले परीक्षण उडान गरेको थियो । त्यसयता सिचुवान एयरलाइन्सको पहिलो अन्तर्राष्ट्रिय उडान हुन लागेको हो ।

चीनको सिचुआन एयरलाइन्सको आज चार्टर्ड उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र सिचुआन एयरलाइन्सबीच यही असार १ गते सम्झौता भएको थियो । उक्त एयरलाइन्सले चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर्ड उडानका लागि अनुमति पाएको थियो ।

पोखराको फेवातालमा यही असार ८ र ९ गते (२३–२४ जुन २०२३)मा फेस्टिभल हुँदैछ । नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनीयाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा फेस्टिभल आयोजना गरिएको हो । पोखरा पर्यटन परिषद् र चाइना ओभरसिज एशोसिएसनले सहआयोजना गरेको फेस्टिभललाई होटल सङ्घ नेपाल (हान) र नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा)लेसमेत सहयोग गरेका छन् ।

बोट रेस कार्यक्रमका सम्बन्धमा गत वैशाख २१ गते पर्यटन बोर्ड, चिनियाँ दूतावास र पोखरा महानगरबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो । कार्यक्रमबाट पर्यटकीय सहर पोखरामा र समग्र देशमा चिनियाँ पर्यटक आगमन वृद्धि हुने विश्वास लिइएको छ । नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा फेवातालमा बोट रेस र फेवाताल किनार क्याम्पिङ चोकमा फेस्टिभल सञ्चालन हुने बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीले बताउनुभयो ।

कार्यक्रममा सहभागी हुन चीनको लिङ्जी नगरबाट उपप्रमुखको नेतृत्वमा ६० जनाको टोली चार्टर्ड उडानबाट सिधै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिनेछ । फेस्टिभलको सहयोगी संस्थाका रूपमा पोखरा पर्यटन परिषद् र चाइनिज ओभरसिज एशोसिएसन पोखरा छन् ।

चीनले यसप्रकारको बोट फेस्टिभल विभिन्न ५० भन्दा बढी देश तथा क्षेत्रमा आयोजना गर्दै आएको नेपालका लागि चिनियाँ दूतावासका डेपुटी चिफ अफ मिसन (डिसिएम) वाङ सिनले बताउनुभयो ।

प्रतियोगितामा मुलुकका सातै प्रदेशबाट र चीनबाट गरी एक सय २० प्रतियोगी सहभागी हुनेछन् । दुई सय र पाँच सय मिटरमा दुई भागमा आठ बोटमार्फट रेस हुनेछ । विजेताले रु ३० लाख पुरस्कार पाउने आयोजकले जनाएको छ । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले कार्यक्रममार्फत पोखरा र समग्र गण्डकी प्रदेशको प्रवर्द्धनमा सहयोग पुग्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “दक्षिण एसियामा पहिलोपटक आयोजना गरिएको बोट रेस फेस्टिभलले नेपालको विश्वभर प्रवर्द्धन हुनेछ । यसबाट भविष्यमा अझै बढी चिनियाँ पाहुना ल्याउन सहयोग पुग्ने विश्वास लिएका छौँ ।”

फेस्टिभलमा नेपाली र चिनियाँ खाना प्रदर्शनी र चिनियाँ सांस्कृतिक कार्यक्रम पनि रहनेछ । पोखरा विमानस्थलमा पहिलोपटक हुने अन्तर्राष्ट्रिय उडानले पर्यटन क्षेत्र उत्साहित भएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *