Main News

बझाङ जीप दुर्घटनामा घाइते सुदूरपश्चिम प्रदेशका मन्त्री पृथ्वीबहादुर सिंहको मृत्यु

दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो

हिमालय टिभी
२०८० असार ५ गते १८:०६
बझाङ जीप दुर्घटनामा घाइते सुदूरपश्चिम प्रदेशका मन्त्री पृथ्वीबहादुर सिंहको मृत्यु

५ असार २०८० बाँके । बझाङमा सवारी दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहसहित तीन जनाको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका मन्त्री सिंहको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरले पुष्टि गरेको हो ।

अस्पतालका निमित्त निर्देशक ढुण्डीराज पौडेलद्वारा जारी विज्ञप्तिमा मन्त्री सिंहको ५ बजेर ३३ मिनेटमा मृत्यु भएको चिकित्सकले घोषणा गरेका थिए । अस्पताल ल्याएलगत्तै सबै तौरतरिका अपनाउँदा पनि सफल हुन नसकेको अस्पतालले जनाएको छ ।

मन्त्रीकी श्रीमती अमृतादेवी सिंह र सिंहकी भाउजु जयादेवी सिंहको भने घटनास्थलमै मृत्यु भएको थियो । बझाङबाट सिंहसँगै हेलिकोप्टरमा अस्पताल ल्याइ पु¥याइएका सवारी चालक धर्मराज जोशी र पिएसओ प्रहरी सहायक हवल्दार दीपक भण्डारीको भने उपचार भइरहेको छ ।

मन्त्री सिंह चढेको सुदूरपश्चिम प्रदेश ०१–९००१ झ ४८० नम्बरको जीप धनगढीबाट बझाङ जाँदै गर्दा केदारस्युँ गाउँपालिकामा दुर्घटनामा परेको थियो । २०१५ साल माघ १७ गते बझाङमा जन्मनुभएका सिंह २०३१ सालमा नेविसंघमा आवद्ध हुनुभएको थियो ।

२०५४ सालदेखि नेपाली कांग्रेस बझाङको सभापति हुनुभएका सिंह २०७४ सालमा बझाङबाटै प्रतिनिधि सभा सदस्यका लागि भएको निर्वाचनमा पराजित हुनुभएको थियो । त्यसपछि २०७९ मंसिरमा सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनमा प्रत्यक्षबाट निर्वाचित हुनुभएका सिंह मन्त्री हुनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *