Main News

हवाई मार्गका विषयमा भारतसँग छलफल सकारात्मकः मन्त्री किराती

२०८० असार ५ गते १३:५७
हवाई मार्गका विषयमा भारतसँग छलफल सकारात्मकः मन्त्री किराती

५ असार २०८० काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले योगलाई धार्मिक शारीरिक, मानसिक स्वास्थ्यलाभसँग मात्र नभएर विश्वका मानव कल्याणको साझा ज्ञानसँग जोड्नुपर्ने बताउनुभएको छ ।

अन्तरराष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा आज बुद्धजन्मस्थल लुम्बिनीमा आयोजित ‘शान्ति र सद्भावका लागि योग अभ्यास’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले महर्षि पतञ्जलीले वैज्ञानिकरूपमा सूत्रबद्ध गरे पनि यसका लागि धेरै ऋषिमुनिले योगदान दिएका र त्यसमध्येमा गौतमबुद्धको नाम अग्रपङ्क्तिमा आउने बताउनुभयो ।

नेपाल र भारतबीचको सम्बन्ध दुई हजार तीन सय वर्षअघि देखिको व्यापार सम्बन्धिबाट सुरु भएको बताउँदै मन्त्री किराँतीले प्रधानमन्त्रीको भारत भ्रमणले भारतसँगको सम्बन्ध थप सुमधुर बनेको बताउनुभयो । उहाँले रामबिना नेपाल र सीता बिनाभारत अपूर्ण हुने पनि स्पष्ट पार्नुभयो । मन्त्री किराँतीले भैरहवा विमानस्थलको हवाई मार्गका विषयमा भारत सरकारसँग छलफल सकारात्मक रहेको बताउनुभयो ।

लुम्बिनी विकास कोष, भारतीय राजदूतावास र पताञ्जली नेपालको आयोजनामा लुम्बिनीमा भएको अन्तरराष्ट्रिय योग दिवस २०२३ का अवसरमा सो कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालसँगको सम्बन्धलाई योगले पनि जोडेको बताउनुभयो । उहाँले नेपाल–भारत सम्बन्ध युगौँदेखि रहँदै आएको र प्रधानमन्त्रीको हालै भएको भ्रमणले थप प्रगाढ बनेको छ भन्नुभयो ।

राजदूत श्रीवास्तवले भारत र नेपाल सरकारबीच हवाई मार्गबारे भइरहेको छलफलबाट सकारात्मक नतिजा आउने विश्वास व्यक्त गर्नुभयो ।

पतञ्जली योग समिति कपिलवस्तु शाखाका अध्यक्ष कृष्णमुरारी ज्ञवाली र नवलपरासी शाखाका अध्यक्ष नरुपति पाण्डेयले योग अभ्यास गराउनुभएको थियो । उक्त दिवसका अवसरमा पतञ्जली र स्थानीयवासीहरु गरी लुम्बिनीमा चार सय जनाले योग अभ्यास गरेका थिए ।

योगाभ्यासमा मन्त्री किराँतीसहित, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, भारतीय राजदूत श्रीवास्तव, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्य, कोषका बोर्ड सदस्यहरु सरिक भएका थिए ।

बुद्धजन्मस्थल लुम्बिनीमा हुने यस्ता कार्यक्रमले लुम्बिनीको प्रचारप्रसारमा योगदान गर्ने कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले बताउनुभयो । प्रत्येक वर्ष जुन २१ तारिखका दिन अन्तरराष्ट्रिय योग दिवस मनाउने गरिन्छ । भारतीय राजदूतावासले नेपालमा प्रत्येक वर्ष योग दिवस मनाउने कार्यक्रमअन्तर्गत यस वर्ष लुम्बिनी र पोखरामा कार्यक्रम गरेको दूतावासका निरज भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *