Main News

उपप्रध्यापक चलाउनेमाथि आक्रमण गर्नेविरुद्धको मुद्दा फिर्ता लिने निवेदनमा सुनुवाइ अस्वीकार

हिमालय टिभी
२०८० असार ५ गते १३:३१
उपप्रध्यापक चलाउनेमाथि आक्रमण गर्नेविरुद्धको मुद्दा फिर्ता लिने निवेदनमा सुनुवाइ अस्वीकार

५ असार २०८० काठमाडौं । जिल्ला अदालत काठमाडौंले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई आक्रमण गर्नेहरु विरुद्धको मुद्दा फिर्ता लिने निवेदन सुनुवाइ गर्न अस्वीकार गरेको छ ।

न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको इजलासले पेशीमा नचढाई निवेदन सोझै इजलासमा पेश भएको भन्दै त्यस्तो निवेदन सुनुवाइ गर्न अस्वीकार गरेको हो ।

सरकारले मुद्दा फिर्ता लिने निर्णय गरेपछि त्यसबारे हिजो निर्णय गरेको सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा निवेदन पेश गरेको थियो । त्यो निवेदन मुद्दाको पुरक निवेदनको रुपमा पेशीमा चढेर इजलासमा पुग्नुपर्नेमा सोझै मिसिलसहितको फाइल न्यायाधीशकोमा पुगेको थियो ।

मुद्दा फिर्ता लिने तयारी भएको थाहा पाउनासाथ प्रेम चलाउनेका कानून व्यवसायीहरु त्यसको प्रतिवाद गर्न अदालत पुगेका थिए ।

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले उपप्राध्यापक चलाउनेविरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा खेपिरहेका नेविसंघका कार्यकर्ताहरुको मुद्दा फिर्ता लिने सरकारको निर्णयप्रति आपत्ति जनाउनु भएको छ । प्रतिनिधिसभा बैठकमा उहाँले उपप्राध्यापक चलाउनेलाई न्याय दिन र नेविसंघका विद्यार्थीहरुलाई दण्डित गर्न माग गर्नु भयो ।

उपप्राध्यापक चलाउनेमाथि २० असोज २०७७ मा आक्रमण भएको थियो । उहाँमाथि आक्रमण गरेको अभियोगमा नेपाल विद्यार्थी संघका हरि आचार्य, योगेन्द्र रावल लगायतविरुद्ध दायर भएको मुद्दा जिल्ला अदालत, काठमाडौंमा विचाराधीन छ । सरकारले यही मुद्दा फिर्ता लिने निर्णय गरेपछि चलाउनेले अनसन सुरु गर्नुभएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *