Main News

बाढी र पहिरोमा मृत्यु हुनेको संख्या ८ पुग्यो, २८ जना अझै बेपत्ता

हिमालय टिभी
२०८० असार ४ गते १७:२२
बाढी र पहिरोमा मृत्यु हुनेको संख्या ८ पुग्यो, २८ जना अझै बेपत्ता

४ असार २०८० काठमाडौं । कोशी प्रदेशका हिमाली र पहाडी जिल्लामा अविरल वर्षासँगै आएको बाढी पहिरोमा परी हालसम्म ८ जनाको मृत्यु भएको छ । ९ जना घाइते भएका छन् ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार ताप्लेजुङमा ३, पाँचथरमा २, भोजपुर र संखुवासभामा एक एक जनाको मृत्यु भएको हो । ती मध्ये पहिरोले पुरेर मृत्यु भएको ५ जना छन् । दुई जनालाई खोलाले बगाएको मन्त्रालयले जनाएको छ ।

घटनामा परी ९ जना घाइते भएका छन् भने २८ जना अझै बेपत्ता छन् । कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार मृत्यु हुनेमा भोजपुर ट्याम्केमयुम–८ का ३२ वर्षीय मन्दीप राई, संखुवासभाको पाँचखपन–९ का २६ वर्षीय सन्तोष राई, पाँचथर फालेलुङ– ४ का ८ वर्षीय जुना साउदेन, फिदिम ११ का २८ वर्षीय सन्जोग लिम्बू छन् । यस्तै, ताप्लेजुङ फिदिङ्वा–६ वर्ष ३० को गणेश तामाङ, ६७ वर्षीय केशर राई र सोही ठाउँका ३६ वर्षीय सुरेश राईको मृत्यु भएको छ । यस्तै एलिशा माझीको पनि मृत्यु भएको छ ।

पाँचथरमा बाढीपहिरोमा फसेका १२ जनाको उद्दार गरिएको छ । याङबरक १ फेदी गाउँमा फसेका १२ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्दार गरिएको हो ।

उद्धार गरिएकामा याङबरक १ का नरमाया गुरुङ, सन्दीप गुरुङ, हिमा गुरुङ, कृष्ण गुरुङ, जितमाया गुरुङ, काजी गुरुङ, सुनिता गुरुङ, मनकुमारी गुरुङ, सुष्मा गुरुङ पदमबहादुर गुरुङ र मनमाया खालिङ छन् ।

यता, ताप्लेजुङको सिदिङ्वा गाउँपालिका ६ मेहेलेमा आज विहान गएको पहिरोमा परि स्थानीय केशर राई बेपत्ता भएका छन् भने अन्य दुईजनाको घाईते अवस्थामा उद्धार गरिएको छ । मुुकुभञ्ज्याङ भन्ने स्थानमा बिहान पहिरो गएको हो । सो क्षेत्रमा पाँचदिन देखि लगातार वर्षा भईरहेको छ ।

बाढीपहिरोले संखुवासभा, ताप्लेजुङ र पाँचथरमा निर्माणाधीन र बिजुली उत्पादन गरिरहेका १५ वटा जलविद्युत आयोजनामा क्षति गरेको छ ।

संखुवासभामा अपर हेवा खोला , हेवा खोला, सुपर हेवा खोला, अपर पिलुवा खोला, डाउन पिलुवा, पिलुवा खोला, सभा खोला, मेन्छियाम र माया खोला जलविद्युत् आयोजनामा क्षति पुगेको छ । यस्तै, ताप्लेजुङ र पाँचथरको सिमानामा रहेका इङ्वा खोला, काबेली बी–१, काबेली बी क्यास्केड, रैराङ, पाँचथरमा हेवा खोला ए, हेवा खोला र लोअर हेवा खोलामा पनि बाढीले क्षति भएको छ ।

बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न गएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितको टोली प्रतिकूल मौसमको कारण पाँचथरमा अवतरण हुन नसकेपछि विराटनगर प्रस्थान गरेको छ ।

आज दिउँसो नेपाली सेनाको हेलिकप्टरबाट संखुवासभाको तुम्लिङटार गएको टोली त्यहाँबाट पाँचथर प्रस्थान गरेको थियो । तर प्रतिकूल मौसमका कारण पाँचथरमा हेलिकप्टर ल्याण्ड गर्न नसकेपछि विराटनगर हुँदै काठमाडौं फर्किएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *