Main News

बाढी र पहिरोका कारण अहिलेसम्म सात जनाको मृत्यु, २८ जना बेपत्ता

प्रधानमन्त्री बाढीपहिरो प्रभावित क्षेत्रमा

हिमालय टिभी
२०८० असार ४ गते १३:०६
बाढी र पहिरोका कारण अहिलेसम्म सात जनाको मृत्यु, २८ जना बेपत्ता

४ असार २०८० काठमाडौं । कोशी प्रदेशका हिमाली र पहाडी जिल्लामा अविरल वर्षासँगै आएको बाढी पहिरोमा परी हालसम्म सात जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार ताप्लेजुङमा ३, पाँचथरमा २, भोजपुर र संखुवासभामा एक एक जनाको मृत्यु भएको हो । ती मध्ये पहिरोले पुरेर मृत्यु भएको ५ जना छन् । दुई जनालाई खोलाले बगाएको मन्त्रालयले जनाएको छ । घटनामा परी ९ जना घाइते भएका छन् भने २८ जना अझै बेपत्ता छन् ।

कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार मृत्यु हुनेमा भोजपुर ट्याम्केमयुम–८ का ३२ वर्षीय मन्दीप राई, संखुवासभाको पाँचखपन–९ का २६ वर्षीय सन्तोष राई, पाँचथर फालेलुङ– ४ का ८ वर्षीय जुना साउदेन, फिदिम ११ का २८ वर्षीय सन्जोग लिम्बू छन् । यस्तै, ताप्लेजुङ फिदिङ्वा–६ वर्ष ३० को गणेश तामाङ, ६७ वर्षीय केशर राई र सोही ठाउँका ३६ वर्षीय सुरेश राईको मृत्यु भएको छ ।

पाँचथरमा बाढीपहिरोमा फसेका १२ जनाको उद्दार गरिएको छ । याङबरक १ फेदी गाउँमा फसेका १२ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्दार गरिएको हो । उद्दार गरिएकामा याङबरक १ का नरमाया गुरुङ, सन्दीप गुरुङ, हिमा गुरुङ, कृष्ण गुरुङ, जितमाया गुरुङ, काजी गुरुङ, सुनिता गुरुङ, मनकुमारी गुरुङ, सुष्मा गुरुङ पदमबहादुर गुरुङ र मनमाया खालिङ छन् ।

यता, ताप्लेजुङको सिदिङ्वा गाउँपालिका ६ मेहेलेमा आज विहान गएको पहिरोमा परि स्थानीय केशर राई बेपत्ता भएका छन् भने अन्य दुईजनाको घाईते अवस्थामा उद्धार गरिएको छ । मुुकुभञ्ज्याङ भन्ने स्थानमा बिहान पहिरो गएको हो । सो क्षेत्रमा पाँचदिन देखि लगातार वर्षा भईरहेको छ ।

बाढीपहिरोले संखुवासभा, ताप्लेजुङ र पाँचथरमा निर्माणाधीन र बिजुली उत्पादन गरिरहेका १५ वटा जलविद्युत आयोजनामा क्षति गरेको छ । संखुवासभामा अपर हेवा खोला , हेवा खोला, सुपर हेवा खोला, अपर पिलुवा खोला, डाउन पिलुवा, पिलुवा खोला, सभा खोला, मेन्छियाम र माया खोला जलविद्युत् आयोजनामा क्षति पुगेको छ । यस्तै, ताप्लेजुङ र पाँचथरको सिमानामा रहेका इङ्वा खोला, काबेली बी–१, काबेली बी क्यास्केड, रैराङ, पाँचथरमा हेवा खोला ए, हेवा खोला र लोअर हेवा खोला मा पनि बाढीले क्षति भएको छ ।

यसैबीच बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पूर्वी पहाडी जिल्ला प्रस्थान गरेको छ । उहाँले पाँचथर,संखुवासभा,भोजपुर र ताप्लेजुङको प्रभावित क्षेत्रको बस्तुस्थितिको जानकारी लिनु हुनेछ ।

प्रधानमन्त्रीका साथमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र सहरी विकासमन्त्री सीता गुरुङ हुनुहुन्छ । प्रभावित क्षेत्रका जनप्रतिनिधि योगेश भट्टराई, वसन्त नेम्वाङ, दीपक खड्का र कोशी प्रदेशसभा सदस्य राजेन्द्र कार्की सहभागी हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *