Main News

प्रसारण लाइन बनाउन सरकारले सहयोग नगरे निर्यात गर्न सकिन्न : प्राधिकरण (भिडियो रिपोर्टसहित)

२०८० असार ३ गते २०:५१
प्रसारण लाइन बनाउन सरकारले सहयोग नगरे निर्यात गर्न सकिन्न : प्राधिकरण (भिडियो रिपोर्टसहित)

३ असार २०८० काठमाडौं । मनसुनका कारण नदीमा पानीको बहाब बढेर विद्युत उत्पादन बढेपछि भारतमा पुनः बिजुली निर्यात गर्न थालिएको छ । तर स्वदेशमा भने दैनिक दर्जनौ पटकसम्म विद्युत आपूर्ति अवरुद्ध हुने समस्याबाट नागरिकले मुक्ति पाएका छैनन् ।

ट्रान्समिसन लाइन निर्माणमा राज्यले सहयोग नगरे आगामी वर्षदेखि विद्युत आपूर्तिमा थप समस्या हुने जनाउ प्राधिकरणले दिएको छ ।

नेपाल विद्युत् प्राधिकरणले गत जेठ १९ गतेदेखि भारतको इनर्जी एक्सचेन्ज लिमिटेडको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत विद्युत् बिक्री गर्न सुरु गरेको हो । अहिले दैनिक ३ सय देखि ३ सय ५० मेगावाटसम्म विद्युत् भारतीय बजारमा बिक्री गरिरहेको छ ।

पछिल्लो समय भइरहेको वर्षाका कारण नदीमा पानीको बहाब बढ्दा विद्युत् उत्पादन पनि बढेको छ । तर मध्य र पश्चिम नेपालमा दैनिक दर्जनौ पटक विद्युत आपूर्ति अवरुद्ध भइरहेको छ । जसका कारण स्वदेशमा माग गरे अनुसार विद्युत नदिएर प्राधिकरणले भारत निर्यात गरेको आरोप खेपिरहेको छ । तर प्राधिकरणले विद्युत उत्पादन कम भएर भन्दा पनि कमजोर पूर्वाधारका कारण समस्या आएको जनाएको छ ।

अहिले नेपालको कुल विद्युत् जडित क्षमता २७ सय मेगावाट हाराहारी छ । तर, नदीमा पानी कम हुँदा विद्युत् उत्पादन भने सात सय मेगावाटमा झरेको थियो । अहिले मनसुन सुरु भएसँगै विद्युत् उत्पादन बढेर १९ सय मेगावाट पुगेको छ । तर, स्वदेशी विद्युत् माग भने १५ सयदेखि १६ सय मेगावाट छ ।

उत्पादन बढेकाले आगामी असोज कात्तिकमा १ हजार मेगावाटसम्म विजुली निर्यात गर्नुपर्ने प्राधिकरणले जनाएको छ । तर भारतले चार सय ५२ मेगावाटका विभिन्न आयोजनाको विद्युत् आफ्नो खुला बजारमा बिक्री गर्न मात्रै स्वीकृति दिएको छ ।

प्राधिकरणले स्वदेशमै खपत बढाउन र गुणस्तरीय विद्युत आपूर्तिका लागि प्रशारण प्रणालीमा सुधारका लागि सरकारको सहयोग मागेको छ । काठमाडौं उपत्यकामा मात्रै विद्युत प्रणाली सुधारका लागि ५० देखि ६० अर्ब र समग्र देशभरीका लागि ८ खर्ब रुपैयाँ लगानी आवश्यक पर्ने देखिन्छ ।

प्रसारण र वितरण लाइन निर्माणमा जोड नदिँदा कमजोर पूर्वाधारको भरमा विद्युत वितरण भइरहेको छ । जग्गा प्राप्ति, रुख कटानलगायत समस्याका कारण प्रशरणलाइन निर्माण हुन नसकेकाले बिजुली वितरणमा समस्या भएको छ । त्यसका लागि राज्यले समन्वय गर्न जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *