Main News

पूर्वी पहाडमा बाढी र पहिरोमा परी ५ जनाको मृत्यु, बेपत्ताको संख्या २९ पुग्यो

हिमालय टिभी
२०८० असार ३ गते १६:४६
पूर्वी पहाडमा बाढी र पहिरोमा परी ५ जनाको मृत्यु, बेपत्ताको संख्या २९ पुग्यो

३ असार २०८० काठमाडौं । अविरल वर्षासँगै आएको बाढी र पहिरोबाट भोजपुर, ताप्लेजुङ, संखुवासभा र पाँचथरमा गरी ५ जनाको मृत्यु भएको छ भने २९ जना बेपत्ता छन् ।

कोशी प्रदेशको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार भोजपुरमा १, ताप्लेजुङमा १, संखुवासभामा १ र पाँचथरमा एक जनाको मृत्यु भएको हो ।

संखुवासभाको हेवा खोलामा गए राति आएको बाढीले बगाउँदा पाँचखपन नगरपालिका ९ का सन्तोष राईको मृत्यु भएको हो । चैनपुर नगरपालिका ४ पेङ्कोट र पाँचखपन ९ मा गएको पहिरोले खोला थुनिएपछि बाढी आएको थियो ।

सभापोखरी गाउँपालिका ५ र ६ का २ जना बेपत्ता भएका छन् । यस्तै, पाँचखपन ८ दोभानेका १८ जना बेपत्ता छन् । हालसम्म तीन जना घाइते भएका छन् । हालसम्म २१ जना बेपत्ता छन् भने तीन जना घाइते फेला परेर उपचारका लागि अस्पताल लगिएको छ ।

तथ्यांक अनुसार पाँचथरमा आएको बाढी र पहिरोका कारण एक जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता छन् । पहिरोले घर पुर्दा घाइते भएकी पाँचथर फालेलुङ–३ की जुना सावदेनको उपचारको क्रममा निधन भएको छ ।

पाँचथर अस्पतालमा उपचार गर्ने क्रममा निधन भएको हो । बाढीले बगाँउदा ५ जना बेपत्ता छन् । पाँचथर प्रहरीका अनुसार हेवा खोलामा आएको बाढीमा परेर फिदिम नगरपालिका १० का २८ वर्षीय सञ्जोग लोवा, हिलिहाङ–७ का ४५ वर्षीय तिलकुमार तामाङ, फिदिम–५ घर भई हाल फिदिम–४ हेवा खोलामा बस्दै आएका ५५ वर्षीय राजकुमार राई, हिलिहाङ–७ का २७ वर्षीय आशिष माझी र उनकी २५ वर्षीय पत्नी एलिसा माझी बेपत्ता भएको प्रहरीले जनाएको छ । ९ वटा चौपायाको मृत्यु भएको छ भने ८ वटा भौतिक संरचना पूर्णरूपमा क्षति भएको छ ।

यता, ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा पहिरोले घर बगाउँदा तीन जना बेपत्ता भएका छन् भने एक जनाको मृत्यु भएको छ । गाउँपालिकाका अनुसार तीन जनाको परिवार र छिमेकी गणेश तामाङ सम्पर्कविहीन भएका हुन् ।

ताप्लेजुङबाट बाहिर जिल्ला जाने सडक अवरुद्ध भएकाले लामो तथा छोटो दूरीका यातायात चलेका छैनन् । पाँचथरको हेवाखोलाको पुल र माझीटारको पुल बगाएकोले पाँचथर, इलाम, झापा जाने यातायातका साधन चलेका छैनन् ।

दोभान बजारछेउको सडकसमेत मेवाखोलाले बगाएकोले जिल्लाभित्र पनि यातायात चल्न कठिन भएको छ । यस्तै भोजपुरको टैम्केमयैयु गाउँपालिका ९ मा बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *