Main News

बाढी र पहिरोका कारण दुई जनाको मृत्यु, २६ जना बेपत्ता

हिमालय टिभी
२०८० असार ३ गते १३:०२
बाढी र पहिरोका कारण दुई जनाको मृत्यु, २६ जना बेपत्ता

३ असार २०८० काठमाडौं । संखुवासभा, ताप्लेजुङ र पाँचथर भएर बग्ने हेँवा खोलाको बाढी र पहिरोमा परी दुई जनाको मृत्यु भएको छ । २६ जना बेपत्ता छन् । धेरै स्थानहरुका सडक संरचनामा बाढीले क्षति पुर्‌याउँदा यातायात सेवा ठप्प भएको छ ।

संखुवासभाको चैनपुर नगरपालिका ४ स्थित निर्माणाधीन हेँवा जलविद्युत आयोजनामा काम गर्ने १७ जना मजदुर सम्पर्कविहीन भएको र एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । संखुवासभाको हेँवा खोलामा गएराती आएको बाढीले बगाउँदा एक जनाको ज्यान गएको छ ।

बाढीले बगाएर ल्याएको अवस्थामा पाँचखपन नगरपालिका ५ मा एक शव भेटिएको र शवको पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । चैनपुर नगरपालिका ४ पेङ्कोट र पाँचखपन नगरपालिका ९ मा गएको पहिरोले खोला थुनिएपछि आएको बाढीले बगाउँदा ठुलो जनधनको क्षति भएको हो ।

बेपत्ता हुनेहरु बाढीले बगाएको वा अन्यत्र भागेको भन्ने यकिन हुन सकेको छैन । बाढीले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुल पनि बगाएको छ भने किनार क्षेत्रमा ४ घर बगाएको जिल्ला प्रहरी कार्यालय जनाएको छ ।

यस्तै पाँचथरमा एक जनाको मृत्यु भएको छ । चार जना बेपत्ता छन् । पाँचथरको फालेलुङबाट सुरु भएको बाढीले तमोर नदीसम्म आईपुग्दा ठुलो क्षती पु‍र्‍याएको छ ।

बाढीले माउण्टेन हाइड्रो पावरका सुरक्षा गार्ड ४५ वर्षीय तिलकुमार तामाङ र २८ वर्षीय संजोग लिम्बु, फिदिम–५ घर भई हेवाखोलमा गिट्टी कुट्ने राजकुमार राईलाई बगाएको छ । माझिटारमा रहेको बोतल हाउस होटलनै बगाउँदा २८ बर्षिय अनिष माझि र २५ बर्षिय एलिसा माझि बेपत्ता भएका छन् । एक जना बालिकाको उद्धार गरिएको छ । तर, बाढीले पुलहरु बगाउँदा उनलाई उपचारमा ल्याउन समस्या भएको हाम्रा पाँचथर सहकर्मी गिरिराज बाँस्कोटाले जानकारी दिनुभयो।

प्रमुख जिल्ला अधिकारी मेघराज मग्रातीले ६ वटा मोटरवेल पुल र ६ वटा झोलुङ्गे पुलमा पूर्ण क्षति भएको जानकारी दिनुभयो । बाढीले घर, खेत, सडक, जलविद्युत आयोजना लगायतमा क्षति पुगेको छ । पुलहरु बगाएसँगै पाँचथरको याङ्वरक, हिलिहाङ र फालेलुङ गाउँपालिकाको सडक सम्पर्क ठप्प भएको छ । विकल्पको रुपमा रहेको तमोर कोरिडोरको बेलिब्रिज पनि बगाएको छ ।

यस्तै ताप्लेजुङमा पहिरोमा परी चार जना बेपत्ता भएका छन् । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका वडा न ६ मेहेलेमा एकै घरका तीन जना र अर्का एकजना बेपत्ता भएका हुन् । मेहेलेको भालुखोपमा गएको पहिरोमा परी स्थानीय यादव बुढाक्षेत्रीको श्रीमती भगिमाया बुडाक्षेत्री, बुहारी सन्ध्या बुढाक्षेत्री र नाति प्रज्वल बुढाक्षेत्री बेपत्ता भएको स्थानीय कमल कडरियाले जानकारी दिनुभयो । यादव भने सिरिजङ्गा गाउँपालिकाको पेदाङ जानु भएको थियो ।

भालुखोपकै पहिरोमा परी स्थानीय गणेश तामाङ बेपत्ता भएका छन् । बुवाआमालाई सुरक्षित स्थानमा राख्ने क्रममा उहाँ बेपत्ता भएको बताईएको छ । बेपत्ता भएकाहरुको खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताउनुभयो । अहिलेपनि अविरल वर्षा भईरहेकाले उद्धारमा समस्या भईरहेको छ ।

यस्तै सिदिङ्वा गाउँपालिका वडा नं ३ आङ्खोपमा ३ वटा घर पहिरोले बगाएको छ । सिदिङ्वा गाउँपालिकाका अध्यक्ष मानबहादुर राईका अनुसार आङ्खोपमा प्रेम सेलिङ, महेश्वर सेलिङ र गणेश सेलिङको घर बगाएको छ । सो घरका मानिसहरु भने भागेर बाँच्न सफल भएको स्थानीय शिक्षक चैतन्य बुढाथोकीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *