Main News

यी हुन् जेल सजाय पाउने ११ पूर्वमन्त्री, कसले कति गरे भ्रष्टाचार ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० असार २ गते २०:५३
यी हुन् जेल सजाय पाउने ११ पूर्वमन्त्री, कसले कति गरे भ्रष्टाचार ? (भिडियो रिपोर्टसहित)

२ असार २०८० काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा आरोपी पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाण तथा सचिव टेकनारायण पाण्डे पुर्पक्षका लागि जेल चलान भएका छन् ।

२०४८ यता ११ जना पूर्वमन्त्रीले भ्रष्टाचार प्रकरणमा दोषी र जेल सजाय भोगेका छन् । अहिलेसम्म भ्रष्टाचारी ठहर भएका र जेल पुगेका पूर्वमन्त्री को को हुन् ?

२०४८ सालपछि ३१ वर्षको अवधिमा मुलुकले राज्य र सहायकसहित एक हजार भन्दा बढी मन्त्री पाइसकेको छ । २५ जना गृहमन्त्री, २१ जना अर्थमन्त्री र सबैभन्दा बढी ५१ जना ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री भएका छन् । तिनै मन्त्री वा पूर्व मन्त्रीहरु विभिन्न समयमा अनियिमतता, भ्रष्टाचार लगायतका आरोपमा प्रहरी हिरासतदेखि कारागारसम्म पुगेका छन् ।

भ्रष्टचार नगर्ने सपथ खाएर उच्च तहमा पुगेका कतिपय नेता मन्त्री बनेपछि भ्रष्टाचार, अनियमिततादेखि अपराध कार्यमा समेत संलग्न भए । गम्भीर आरोप खेपेका मन्त्रीको सूची लामै छ । तीमध्ये पनि मन्त्री बनेका केही नेता राजनीतिक जीवनको उत्तरार्धमा बदनामी कमाउन पुगेका छन् ।

मन्त्री बनेर विभिन्न आरोपमा सजाय भोग्नेदेखि आरोप लाग्ने पूर्वमन्त्रीहरु को–को छन् त ?

बालकृष्ण खाण र टोपबहादुर रायमाझी
पूर्वगृहमन्त्री बालकृष्ण खाण र पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी नक्कली शरणार्थी प्रकरणमा नाम मुछिएपछि अहिले पुर्पक्षका लागि जेल चलान भएका छन् । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने मुख्य योजना बनाएको आरोप रायमाझीलाई छ भने शरणार्थी सम्बन्धी कार्यदलको प्रतिवेदन नै फेरेर नक्कली नाम राखेको आरोप खाणलाई लागेको छ ।

पूर्वगृहमन्त्री खुमबहादुर खड्का
पूर्वगृहमन्त्री खुमबहादुर खड्कालाई अकुत सम्पत्ति कमाएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०५९ मा विशेष अदालतमा मुद्दा दर्ता गयो । तर,२०६३ सालमा विशेष अदालतले स्रोत नखुलेको भन्दै खड्कालाई सफाइ दियो । अख्तियारले विशेष अदालतको फैसलाविरुद्ध गरेको पुनरावेदनमा २०६८ मा सर्वोच्चले खड्कालाई दोषी ठहर गर्दै डेढ वर्ष कैद सुनायो । खड्काको हाल निधन भइसकेको छ ।

चिरञ्जीवी वाग्ले
पूर्वसञ्चारमन्त्री चिरञ्जीवी वाग्लेलाई तीन करोड रुपैयाँ भ्रष्टाचार अभियोगमा २०५९ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको थियो । २०६१ मा विशेष अदालतले वाग्लेलाई दुई करोड ७२ लाख ५८ हजार भ्रष्टाचार गरेको ठहर गर्दै अढाई वर्ष कैद सजायसमेत सुनायो । त्यसविरुद्ध वाग्लेले सर्वोच्चमा पुनरावेदन गरे तर अदालतले २०६७ मा दुई करोड तीन लाख रुपैयाँ जरिवाना र १८ महिना जेल सजायको फैसला सुनाएपछि वाग्ले जेल परे ।

जयप्रकाशप्रसाद गुप्ता
पूर्वसञ्चारमन्त्री जयप्रकाशप्रसाद गुप्ताले पदीय दुरुपयोग गरी दुई करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०५९ विशेष अदालतमा मुद्दा दायर गरेको थियो । तर, २०६४ सालमा गुप्ताले विशेष अदालतबाट सफाइ पाए । अख्तियारले विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेपछि २०६८ मा सर्वोच्चले सार्वजनिक पद दुरुपयोग गरी भ्रष्टाचार गरेको ठहर गर्दै डेढ वर्ष जेल चलान गयो । उनी जेल चलान हुँदा वहालवाला मन्त्री थिए ।

गोविन्दराज जोशी
पूर्व गृहमन्त्री गोविन्दराज जोशीले अकुत सम्पति आर्जन गरेको भन्दै २०६० मा विशेष अदालतमा अख्तियारले मुद्दा दर्ता गर्यो । विशेष अदालतले २०६३ मा अख्तियारले म्याद गुजारेर मुद्दा दर्ता गरेको भन्दै सफाइ दियो । फेरि अख्तियारले विशेष अदालतको आदेशविरुद्ध सर्वोच्चमा रिट हाल्यो । विशेष आदालतमा जोशीविरुद्ध मुद्दा चल्यो । २०६६ मा विशेष अदालतले जोशीलाई २ करोड १६ लाख मात्रै स्रोत नपुगेको भन्दै बिगोसहित असुल गर्न र डेढ वर्ष मात्र कैद सजाय सुनायो । सो फैसलाविरुद्ध जोशी सर्वोच्च गए पनि मुद्दाको सुनुवाइ हुन सकेको छैन ।

बद्री न्यौपाने
पूर्वसमाज कल्याणमन्त्री बद्री न्यौपानेले भृकुटीमण्डपको ६० रोपनी जग्गा भाडामा लगाउँदा ३१ करोड ५२ लाख १७ हजार अनियमितता भएको दाबी गर्दै अख्तियारले २०७५ मा विशेष अदालतमा मुद्दा दर्ता गयो। २०७९ फागुन २५ गते पूर्वमन्त्री न्यौपानेलाई ९ वर्ष ६ महिना कैद हुने फैसला सुनाइएको छ । न्यौपानेले मुद्दा पुनरावेदन गरेका कारण जेल भने परेका छैनन् ।

रवीन्द्रनाथ शर्मा
२०६० मा अख्तियारले चार करोड ९५ लाख ५४ हजार रूपैयाँ भ्रष्टाचार गरेको दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो । तर, ०६६ सालमा अदालतको फैसला नआउँदै उनको निधन भयो । अदालतले मरणोपरान्त भ्रष्टाचारी ठहर गर्दै फैसला गरेको थियो ।

कृष्णबहादुर महरा
पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध २०७६ असोज १३ मा बलात्कार प्रयास मुद्दामा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भयो । त्यसलगतै महराले १४ गते सभामुख पदबाट राजीनामा दिए । १९ गते महराको निवासबाटै प्रहरीले पक्राउ गयो । पछि २०७८ मा महरालाई अदालतले उनलाई सफाइ दियो ।

सञ्जय साह ‘टकला’
पूर्व राज्यमन्त्री सञ्जयकुमार साहलाई जनकपुरका सञ्चार उद्यमी अरुण सिंघानिया हत्याकाण्डका आरोपमा जिल्ला अदालत धनुषाले २०७६ मा जन्मकैदको सजाय सुनाएको थियो । अहिले साह नख्खु कारागारमा छन् ।

मोहम्मद अफ्ताव आलम
पूर्वमन्त्री मोहम्मद अफताफ आलम जिउँदै इट्टाभट्टामा मानिस जलाएको आरोपमा पुर्पक्षका लागि जेलमा छन् । २०७६ कार्तिक २९ गते जिल्ला अदालत रौतहटले जेल पठाउने फैसला गरेको थियो । २०६४ चैत २७ गते राजपुर बम विस्फोट र त्यसमा घाइते भएकाहरुलाई इँटाभट्टामा जलाएको आरोपमा अदालतमा मुद्दा चलिरहेको छ

श्यामसुन्दर गुप्ता
पूर्वमन्त्री श्यामसुन्दरलाई अपहरण तथा शरीर बन्धक उद्योगमा उच्च अदालत पाटनको आदेशमा कारागार चलान भए । उनले व्यापारी पवन संघाइको अपहरण र एक महिला व्यवसायीलाई अपहरण गर्ने धम्की दिएको २ वटा आरोपमा अदालतले कारागार चलानको फैसला गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *