Main News

नागरिक समाजको रचनात्मक आन्दोलन, सरकारसँग शंका, सडकमा नाटक र कविता ! (भिडियो रिपोर्टसहित)

२०८० असार २ गते २०:४१
नागरिक समाजको रचनात्मक आन्दोलन, सरकारसँग शंका, सडकमा नाटक र कविता ! (भिडियो रिपोर्टसहित)

२ असार २०८० काठमाडौं । ठूला माछा भ्रष्टाचारसम्बन्धी विभिन्न काण्ड र प्रकरण बढी प्रयोग हुने शब्द हो । ३३ क्विन्टल सुन काण्ड छानबिनका क्रममा तत्कालीन गृहमन्त्री रामबहादुर थापाले बोलेको यो शब्द चल्तीमा छ ।

नागरिक अगुवाहरुले ठूला भ्रष्टचारीलाई उन्मुक्ति नदिन यही पदावली प्रयोग गरी नाटक र कविता मार्फत् सरकारलाई आग्रह गरेका छन् ।

शनिबार पाटन दरबार स्क्वायरमा देखाइएको यो नाटक मनोरञ्जनका लागि मात्रै होइन । भ्रष्टाचार काण्डमा मुछिएका ठूला माछा अर्थात् उच्च राजनीतिक व्यक्तिको बचाउमा राज्य लाग्ने पो होकी भन्ने आशंकासहित नागरिक समाजले चेतनामुलक सन्देश दिँदै थियो । र त्यहाँ थिए शिल्पी थिएटरका कलाकार ।

कवितामा भनिए जस्तै अझै पनि नक्कली शरणार्थी प्रकरणको छानबिन कमजोर पो हुने हो कि भन्ने चिन्ता सबैलाई छ र बढी चिन्तित देखिन्छन् यी कवि ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला माछालाई छुटाउने षड्यन्त्र भएको भन्दै बृहत् नागरिक आन्दोलनले आयोजना गरेको खबरदारी सभामा सहभागीलाई अझै पनि अनुसन्धान फितलो हुने हो कि भन्ने शंका छ ।

अभियन्ताले भ्रष्टाचार मुद्दामा हाईप्रोफाइलले उन्मुक्ति पाउने आशङ्का चिर्नका लागि प्रहरीले निष्पक्ष अनुसन्धान गर्नुपर्ने र थप प्रमाणहरू जुटाउन पर्ने माग गरे । उनीहरूले उजुरीकर्ताको गोपनीयता र सुरक्षाको विशेष प्रबन्ध गर्न र बयानमा नाम आएका प्रत्येक आरोपिमाथि प्रभावकारी अनुसन्धान गर्न माग गरेका छन् ।

गिरोहमा संलग्नलाई कारबाही गर्ने हिम्मत गर्न नागरिक अगुवाहरुले थालेको यो रचनात्मक अभियान सचेतताका लागि हो । ढिलै भए पनि सडकमा ओर्लिएका नागरिक अगुवाको यो अभियानले भ्रष्टाचारविरुद्ध विगुल फुक्न सकोस् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *