Main News

खाण र रायमाझीसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश

लक्ष्मी महर्जनसहित दुई जनालाई धरौटीमा छाड्न आदेश

हिमालय टिभी
२०८० असार १ गते १८:३२
खाण र रायमाझीसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश

१ असार २०८० काठमाडौं । जिल्ला अदालत काठमाडौंले नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्रीद्वय बालकृष्ण खाण र टोपबहादुर रायमाझी तथा सचिव टेकनारायण पाण्डेसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले दुई साता लामो थुनछेक बहसपछि लक्ष्मी महर्जनसहित दुई जनालाई भने धरौटीमा छाड्ने आदेश गरेको छ । महर्जनलाई ५ लाख र टंक कुमार गुरुङलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । बाँकीको धरौटी माग समेत अश्वीकार भएको छ ।

यो आदेशसँगै पक्राउ परेका १६ अभियुक्तहरू अब न्यायिक हिरासतबाट कारागार चलान हुनेछन् । अनुसन्धानका क्रममा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री रायमाझी, पूर्वगृहमन्त्री खाण, सचिव पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँसहित १६ र मुद्दा दायर भएपछि नियन्त्रणमा लिइएका २ जना हाल न्यायिक हिरासतमा छन् ।

यो कसुरमा अरू १२ जना फरार छन् । भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ र फरार १४ गरी ३० जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले ठगी, संगठित अपराध, किर्ते र राज्यविरुद्धको अपराध कसुरमा कैद‚ बिगो र जरिवाना मागदाबीसहित जेठ १० गते मुद्दा दायर गरेको थियो ।

मुद्दा दायर भएको २ दिनपछि जेठ १२ गतेबाट अदालतले अभियुक्तहरूसँग थुनछेक बहसअघिको बयान लिएको थियो । जेठ १९ गते बहस टुंग्याएकोमा त्यसको दुई दिनपछि २१ गतेबाट थुनछेक बहसका लागि इजलास बसेको थियो । २२ गतेबाट ३ दिनसम्म सरकारी वकिलले मुद्दाको पक्षमा बहस गरेका थिए ।

२५ गतेदेखि प्रतिवादीतर्फका कानुन व्यवसायीहरूले बहस गरेका थिए । प्रतिवादीका कानुन व्यवसायीहरूको बहस बिहीबार टुंगिएको थियो ।

आज जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सहन्यायाधिवक्त अच्युतमणि न्यौपानेसहितका सरकारी वकिल र जाहेरीकर्ताका कानुन व्यवसायीहरूले जवाफी बहस गरेका थिए । बहस सकिएलगत्तै न्यायाधीश न्योपानेले १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिनुभएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *