मेलम्ची बाढीको दुई बर्ष: प्रभावित अझै अस्थायी टहरामै (भिडियो रिपोर्टसहित)

१ असार २०८० सिन्धुपाल्चोक । २०७८ असार १ गते सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा लेदोसहितको बाढी आएको दुई बर्ष पूरा भयो । बाढीका कारण ठुलो जनधनको क्षति भयो ।
नदी तटीय क्षेत्रका सयौँ घर र खेतियोग्य जमिन बगर बने भने हजारौँ नागरिक विस्थापित भए । बाढी गएको दुई वर्ष बितिसके पनि अस्थायी टहरामै बसिरहेका प्रभावित जीवन गुजाराका लागि आयमुलक कामसंगै टाउको लुकाउने सुरक्षित घर कहिले पाइन्छ भन्ने पर्खाइमा छन् ।
मेलम्ची बाढीले घरखेत बगाएर बेसहारा बनेकी हेलम्बु–२ च्युरीखर्ककी जुकमाया थापामगरको आँखा अझै ओभाएका छैनन् । बाढीले उहाँको घर सहित भएको थोरै जमिन समेत बगर बनेपछि उहाँको परिवार सुुकुम्बासी बनेको छ ।
सरकारले घर बनाइदिने बताएको दुई वर्ष बितिसक्दा समेत अस्थायी टहरामै बस्न बाध्य उहाँलाई दैनिक गुजारा चलाउन समेत धौधौ परेको छ । हेलम्बुकै अर्का वृद्ध दम्पत्तीलाई अस्थायी टहरामा सकसपूर्ण वासले जिउन पनि गाह्रो बनाएको छ भने नयाँ घरमा बस्न पाइने आशा मारिसकेका छन् । बाढीका कारण विस्थापित हेलम्बु, मेलम्चीका स्थानीयवासी सुरक्षित ठाउँमा घर कहिले बनाउन पाइएला भन्ने अझै चिन्तामा छन् ।
बाढीका कारण हेलम्बुमा मात्रै ३ सय ९२ जना लाभग्राही कायम भएकोमा हालसम्म २ सय ७५ जनाले मात्र पहिलो किस्ता पाएका छन् । मेलम्ची नगरपालिकामा कायम भएका २ सय ७१ लाभग्राहीमध्ये २ सय ४५ जनाले पहिलो, २८ जनाले दोश्रो र १ जनाले मात्र अन्तिम किस्ता पाएका छन् ।
यस्तै पाँचपोखरी थाङपाल गाउँपालिकामा समेत १ सय ७९ जना लाभग्राहीमध्ये जम्मा २६ जनाले मात्र पहिलो किस्ता लिएका छन् । जिल्लामा बाढी पहिरो लगायतका प्राकृतिक प्रकोपबाट प्रभावित बनेका १ हजार ५ सय ७९ लाभग्राहीमध्ये हालसम्म ७ सय ७६ जनाले पहिलो, ६८ जनाले दोश्रो र मात्र ७ जनाले अन्तिम किस्ता रकम पाएका छन् । बाढीका कारण विस्थापित भएका स्थानीयको स्थायी आवास पुनर्निर्माण प्रक्रियामा स्थानीय तह र जिल्ला प्रशासन कार्यालयबिच आपसि तालमेल नहुँदा घरनिर्माण कार्य सुस्त छ ।
प्राकृतिक विपद्का हिसाबले देशकै उच्च जोखिममा रहेको यस जिल्लामा वर्षायाममा आउने बाढी, पहिरो तथा अन्य विपद्मा पूर्वसूचना प्रणाली, विपद् प्रतिकार्य योजना एवं सामग्रीहरुको उचित व्यवस्थापनको कमजोरीले पनी बर्षेनी जनधनको क्षति हुने गरेको स्थानीयको ठम्याई छ । यस्ता प्राकृतिक विपद्को पूर्वसूचनाले ठूलो क्षति हुनबाट रोक्न सकिने अनुभव मेलम्ची बाढीले सिकाएकोले सोको पुर्व तयारीगरीएको मेलम्ची नगरपालिकाले जनाएको छ ।
२०७८ असार १ गतेको बाढीले हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकाकोमात्रै ५ सय ५१ घर बाढीले बगाएको थियोे । ५४ सय रोपनी खेतियोग्य जमिन बगर बन्यो भने २६ जनाको मृत्यु भएको थियो । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना संगै ७ वटा झोलुङ्गे पुल, ९ वटा पक्की पुल र ३३ वटा सार्वजनिक संरचना ध्वस्त भएका थिए ।
प्रतिक्रिया