Main News

हेल्लो सरकारकाे १२ वर्ष : उजुरी, सुन्ने र थन्क्याउनेमा सीमित (भिडियो रिपोर्टसहित)

२०८० जेठ ३१ गते १४:४२
हेल्लो सरकारकाे १२ वर्ष : उजुरी, सुन्ने र थन्क्याउनेमा सीमित (भिडियो रिपोर्टसहित)

३१ जेठ २०८० काठमाडौं । जनताको गुनासो प्रत्यक्ष सुन्न र त्यसको समाधानका लागि सिफारिस गर्ने उद्देश्यले २०६८ सालमा ‘हेल्लो सरकार’को सुरुवात भयो ।

११११ मा सम्पर्क गरेर वा इमेल इन्टरनेटको माध्यमबाट समेत गुनासो राख्ने व्यवस्थासहित तत्कलीन प्रधानमन्त्री बाबुराम भट्टराईको पालामा स्थापना भएको हेल्लो सरकारले सोचेअनुसारको काम गर्न सकेको छैन् । हेल्लो सरकारमा १२ वर्षमा ३१ हजारभन्दा बढी उजुरी परे । तर धेरैजसो उजुरी सुन्ने र थन्क्याउनेमा मात्रै सीमित भएको छ ।

हेल्लो सरकारमा १२ वर्षमा ३१ हजार २ सय १७ उजुरी परेका छन् । सरकारको सेवा प्रवाहदेखि तीन तहकै सरकारबाट भएका सार्वजनिक विकासका काममा समेत उजुरी परेका छन् । त्यसमध्ये ६० प्रतिशत अर्थात १८ हजार ६ सय ७९ गुनासो हेल्लो सरकारबाट फर्स्यौट भएका छन् । फछ्र्यौट भएका गुनासो अधिकांस पक्रिया पुरा नगरि आएकाले रद्द गरिएका छन् ।

यसले फर्स्यौटदर बढी देखिए वास्तविक गुनासो भने सम्बोधन भएका छैन् । आएका गुनासो मध्ये १ दशमलव ३५ प्रतिशत् अर्थात् ४ सय २२ गुनासो मात्रै सम्बन्धित निकायबाट समाधान भएका छन् । ५ हजार ६ सय २५ उजुरी सम्बन्धीत कार्यालयमा समाधान हुने प्रक्रियामा छन् । ४ हजार ४ सय ७७ उजुरी सम्बन्धीत कार्यालयले हेरे पनि प्रक्रियामा लगेका छैनन् । यस्तै २ हजार १४ उजुरी हेल्लो सरकारले सम्बन्धीत निकायमा पठाए पनि कार्यालयले हेरेका छैन ।

कुन कार्यालयविरुद्ध बढी उजुरी दर्ता भए ?
सबैभन्दा बढी उजुरी राष्ट्रिय सूचना प्रविधि केन्द्रविरुद्ध दर्ता भएको पाइएको छ । यो कार्यालयविरुद्ध हालसम्म २ हजार ७ सय ४३ उजुरी दर्ता भएका छन् । यस्तै उजुरी दर्ता हुने दोस्रो नम्बरमा प्रहरी प्रधान कार्यालय रहेको छ । प्रहरी प्रधान कार्यालयविरुद्ध २ हजार ५ सय ४२ उजुरी परेका छन् ।

तेस्रोमा नम्बरमा रहेको नेपाल विद्युत् प्राधिकरणविरुद्ध एक हजार ४ सय ५६ उजुरी परेका छन् । चौथो धेरै उजुरी त्रिभुवन विश्वविद्यालयविरुद्ध परेको छ । त्रिविविरुद्ध नौ सय १८ उजुरी दर्ता भएका छन् । यातायात व्यवस्था विभागविरुद्ध १२ वर्षमा ७ सय १ उजुरी परेका छन् । जुन पाँचौं धेरै उजुरी परेको कार्यालयमा पर्छ । त्यसपछि काठमाडौं महानगरविरुद्ध धेरै उजुरी परेका छन । छैटौं नम्बरमा रहेको महानगरविरुद्ध हालसम्म ६ सय ८० उजुरी दर्ता भएका छन् ।

के के विरुद्ध उजुरी परे ?
सरकारको सेवा प्रवाहमा भएका कठिनाइ र समस्या दर्ताका लागि हेल्लो सरकार सञ्चालनमा ल्याएको हो । सरकारी कार्यालयमा प्रविधिको प्रयोग बढीरहेकै छ । हरेक जसो सरकारी कार्यालको छुट्टै वेवसाइट छ । हेल्लो सरकारमा परेका उजुरीमा सबैभन्दा बढी वेवसाइटमा समस्या देखिएको गुनासो आएका छन् ।

२ हजार एक सय १८ जनाले विभिन्न सरकारी कार्यालयको वेवसाइटमा समस्या देखिएको गुनासो गरेका छन् । यस्तै एक हजार ३ सय २५ जनाले विद्युत्सम्बन्धी गुनासो दर्ता गराएका छन् । एक हजार २ सय ८२ जनाले सोधपुछमा झन्झट मानेको गुनासो गरेका छन् । एक हजार २ सय ५९ जनाले कार्यालयको अभिलेख वा रेकर्डबारे गुनासो गरेका छन् । नौ सय २२ जनाले खानेपानीसम्बन्धी गुनासो पोखेका छन् । यस्तै भौतिक विकास निर्माणमा अनियमितता, ढिलासुस्ती, भ्रष्टाचारसम्बन्धमा पनि हेल्लो सरकारमा गुनासो दर्ता भएका छन् ।

हेल्लो सरकारमा ११११ मा फोन गरेर, हेल्लो सरकारको वेवसाइट वा प्रचलित सामाजिक सञ्जालबाट पनि गुनासो दर्ता गर्न सकिन्छ । गुनासो दर्ताको अनुपात हेर्दा सबैभन्दा धेरै वेवसाईट र फोनबाटै गुनासो दर्ता भएको पाइएको छ । यस्तै फेसबुक, ट्वीटर, भाइबर, इमो, स्काइप, इमेल र फ्याक्सबाट पनि उजुरी दर्ता हुने गरेको छ । तर, आफैं उपस्थित भएर उजुरी दर्ता गर्नेको संख्या भने १२ वर्षमा ३६ मात्रै छ ।

हेल्लो सरकारको सुरुवाती वर्षमा गुनासो सम्बोधन शिघ्र हुने गर्दा उजुरी दर्ता पनि धेरै हुने गरेको थियो । सुरुवाती दिनमा दैनिक पाँच सयको हाराहारीमा गुनासो सम्बोधन हुने गरेकोमा अहिले दैनिक ४० देखि एक सय वटा उजुरी आउने गरेको छ । कारण, यसको फछ्र्यौटमा लामो समय लाग्नु र सम्बन्धीत कार्यालयले गुनासो सम्बोधनमा चासो नदेखाउनु रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *