Main News

प्रहरी निरीक्षकबाट निर्घात कुटिए ड्युटीमा खटिएका सशस्त्रका हवल्दार

हिमालय टिभी
२०८० जेठ ३१ गते १४:३८
प्रहरी निरीक्षकबाट निर्घात कुटिए ड्युटीमा खटिएका सशस्त्रका हवल्दार

३१ जेठ २०८० झापा । झापाको मेचीनगर सीमा नाकामा ड्युटीमा खटिएका सशस्त्र प्रहरीका हवलदारलाई सशस्त्रका प्रहरी निरीक्षकले निर्घात् कुटपिट गरेका छन् ।

हतियार तथा बर्दीधारी पाँचजना हवलदारलाई सादा पोशाकमा खटिएका सशस्त्रका इन्स्पेक्टर नभप्रभात राईसहितको तीनजनाको टोलीले निर्घात कुटपिट गरेको हो ।

इन्स्पेक्टर राईको कुटपिटबाट सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट नकलबन्दामा कार्यरत सशस्त्र प्रहरी वरिष्ठ हवलदार पासाङ तामाङ, सशस्त्र प्रहरीका हवलदारहरु गणेशबहादुर तामाङ, रामबहादुर कार्की, सहायक हवलदार शान्तबहादुर राई र सशस्त्र जवान उमेश राजवंशी घाइते भएका छन्।

घाइतेको ढाड र हातमा चोट लागेको छ । घाइतेहरूको धुलाबारीस्थित आम्दा मेची हस्पिटलमा उपचार भइरहेको छ । सशस्त्रलाई सार्वजनिक स्थलमा निर्घात कुटपिट गरेपछि आक्रोशित बनेका स्थानीयले इन्स्पेक्टर राईसहित तीनै जनालाई कडा कारबाहीको माग गर्दै नाराबाजीमा उत्रिएका थिए ।

सोही क्रममा स्थानीयले सशस्त्रको बीएबी ३२४६ नम्बरको गाडी समेत तोडफोड गरेका छन् । बराह बाहिनीबाट खटिएका इन्स्पेक्टर राई, सशस्त्र जवानहरू तामाङ र बास्तोलालाई सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापामा झिकाएर विभागीय कारबाही प्रक्रिया अघि बढाइएको छ ।

यता सशस्त्र प्रहरी बल नेपाल कोशी प्रदेश बराह बाहिनी मुख्यालय सुनसरीले ड्युटीमा खटिएका सशस्त्रलाई कुटपिट गर्ने सशस्त्र कर्मचारीलाई विभागीय कारबाही गरिने बताएको छ । घटनाको बारेमा थप बुझ्न बराह बाहिनी मुख्यालय सुनसरीका एसपी विक्रम हुमागाईँको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ ।

इन्स्पेक्टर राईले घटनास्थल पुगेर बीओपी नकलबन्दाबाट खटिएका १३ जना र सीमा सुरक्षा गुल्म काँकडभिट्टाबाट खटिएका ३ जना गरी १६ जनालाई सामेल गराएका थिए। त्यसपछि इन्स्पेक्टर राईले ड्युटीमा लापरबाही गरेको भन्दै उनीहरूलाई पानीमा चोपल्दै भाटाले हिर्काएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *