Main News

प्रकाश भुजेलको ठगी धन्दामा सरकारी निकायकै सहयोग !(भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० जेठ ३० गते २१:१३
प्रकाश भुजेलको ठगी धन्दामा सरकारी निकायकै सहयोग !(भिडियो रिपोर्टसहित)

३० जेठ २०८० काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल भैरहेका प्रकाश भुजेलको ठगी धन्दामा सरकारी निकायले नै सहयोग पुर्याएको पाइएको छ ।

हिमालय टेलिभिजनले लगातार वास्तविकता बाहिर ल्याएपछि बल्ल भुजेलको कर्तुतमा स्थानीय प्रशासनले चासो दिएको छ । पृष्ठभूमि र आधारविना नै भुजेलले पसल दर्ता गरेर नागरिकलाई भ्रम फैलाउँदै उपचारका नामका ठगी गरिरहेका छन् भन्ने विवादास्पद घटना र क्रियाकलापको प्रशासनले छानबिन थाल्ने भएको छ ।

शनिबार बिहान ११ बजे काठमाडौंको गोकणेश्वर नगरपालिका ७ स्थित जोरपाटी दक्षिण ढोकामा निकै चहलपहल थियो । चारपांग्रे, दुईपांग्रे सवारी साधनको लाइन, दुईतले घरको वरिपरि खुट्टै नअट्ने भिड थियो । घरको अगाडि एउटा एम्बुलेन्स रोकिएको थियो, भित्र बोल्न नसक्ने अवस्थामा सुतिरहेका बिरामीहरु । ठेलमठेल मानिसहरुको भिड थियो ।

कुनै सिनेमाको किस्साजस्तो लाग्ने यी दृश्य,गोकणेश्वर नगरपालिका ७ स्थित जोरपाटी दक्षिण ढोकाको हो । यो रुद्राक्षधारी व्यक्ति उनै झाक्रीका नामले पछिल्लो समय सामाजिक सञ्जालमा देखिएका व्यक्ति प्रकाश भुजेल हुन ।

हामीले त्यहाँ आएका भिडमध्ये केहीलाई सोधेका थियौँ झारफुक गरेर र भुजेललाई भेटेको भरमा कसलाई कस्तो रोग कति समयसम्ममा निको भयो, कसैसँग प्रमाण छैन । केही स्वयंसेवक बिहान ६ बजेदेखि बेलुकासम्म खटाइएका छन् । एकपटकमा बीस जनाभित्र भुजेलसमक्ष झारफुकका लागि लगिन्छ । भित्र केही युवाले ढ्याङ्ग्रो बजाएर र कानमा शङख बजाएर बिरामीलाई प्रश्न गर्छन् ।

दैनिक पाँच सय जनाले नाम दर्ता गर्छन् । एकजना बराबर २ हजार देखि २ हजार पाँच सय रुपैयाँसम्म भेटी राखेर फर्किन्छन् भेट्न पुग्नेहरु । यतिधेरै संख्यामा सर्वसाधारण पुग्ने गरेपनि भुजेलले भने संस्कृति पूजा केन्द्र भनेर पूजा सामग्री बेच्नका लागि मात्र स्थानीयपालिकाबाट अनुमति लिएका छन् । तर उपचारका नाममा विरामीसँग खेलवाड गर्ने गरेका छन् । कुनै विधामा पनि उनीसँग औपचारिक शिक्षा वा दक्षता छैन । तर पनि स्वास्थ्य जस्तो संवेदनशील विषयमा उनको लहड देखिन्छ ।

यता भुजेलले पसल दर्ता गर्दा पूजा समागी बेच्ने भन्ने भनेका थिए । पछि उनले दर्ता गरेको बिपरीत काम गरेको पाईएको छ । दर्ता प्रमाणपत्रमा उल्लेख भए अनुसारको काम नगरेको पाइए अनुसन्धान गरी दर्ता खारेज गरिने गोकर्णेश्वर नगरपालिकाले बताएको छ । अहिले प्रहरीले भुजेलले गैरकानूनीरुपमा सञ्चालन भएकोभन्दै पसल सिल गरेको छ । नगरपालिकाले पनि छानबिन गर्ने बताएको छ ।

अवैज्ञानिक र अव्यवहारिक विधि र पद्धतिबाट बिरामीको उपचार गराउँछु भनेर भ्रम छर्ने तथा ठगी गर्ने भुजेलले प्रहरीलाई आफैंले पालेर राखेको हाकाहाकी बताउँने गर्दा पूर्वप्रहरी उपरीक्षक रामेश्वर यादव भुजेलसँगै हिँडडुल गरेको बाहिरिएको छ ।

मानिसलाई झु्क्याउन र अलमलमा पार्न विभिन्न प्रकारका स्टन्ट पनि प्रकाशले गर्दै आएका छन् । हामीले भुजेलको भ्रम सम्बन्धी रिपोर्ट प्रशारण गरेपछि धेरै जनाले आफू भ्रममा परेको गुनासो गर्ने थालेका छन ।

यो भन्दा अगाडि पनि मान्छेको हड्डी भन्दै धागो बाँधेर घुमाउने गरेका प्रकाशले पछि कानुनी उल्झनबाट जोगिन हड्डी नभएर काठ हो भन्ने गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *