Main News

विदेशबाट फर्किएकालाई दलीय झण्डा ! (भिडियो रिपोर्टसहित)

२०८० जेठ ३० गते २१:०८
विदेशबाट फर्किएकालाई दलीय झण्डा ! (भिडियो रिपोर्टसहित)

३० जेठ २०८० काठमाडौं । शिक्षा, स्वास्थ्य क्षेत्रमा मात्र होइन, कर्मचारीतन्त्रमासम्म दलीय राजनीति घुसाउन माहिर नेपालका राजनीतिक दलले अहिले वैदेशिक रोजगारीबाट स्वदेश फर्किएकालाई पनि दलीय ‘ट्याग’ भिराउन तछाँडमछाड गर्न थालेका छन् ।

विदेशमा कामको अनुभव गरेका उनीहरुलाई दलीय झण्डा बोकाउनुभन्दा क्रियाशिल बनाएर उत्पादनमूलक काममा लगाउन किन चाहँदैनन्, दलहरु ?

विदेशमा श्रम गरेर स्वदेश फर्किएकालाई व्यवस्थित गर्ने सरकारी घोषणा पटक–पटक आउने गरेको छ । तर, आफूले सिकेका जानेका कुरा लागु गर्न नपाउँदा कतिपय विदेश नै फर्किने गरेका छन् । अहिले उनीहरुको सीप प्रयोग गर्नुपर्ने बहस चल्दा दलहरु भने आफ्ना कार्यकर्ता बनाउन लालायित भएका छन् ।

शिक्षा, स्वास्थ्य, कर्मचारीतन्त्र, सञ्चारमाध्याममा समेत विभिन्न संगठन बनाउने दलहरुले वैदेशिक रोजगारीबाट फर्किएकालाई पार्टीको झण्डा बनाउने अभियान थालेका छन् । भर्खरै मात्र जेठ २६ गते भेला आयोजनै गरेर माओवादी केन्द्रले रिटर्नी सेन्टरको नाममा त्यस्ता युवालाई संगठित गरेको छ । १ सय ११ तदर्थ समिति बनाएको माओवादीले ति युवालाई उत्पादनमुलक काममा लगाउने कुनै योजना बनाउन सकेको छैन ।

माओवादी मात्र होइन, एमालेले त २०७९ चैत ११ गते नै रिटर्नी फेडरेशन नेपालको नाममा महाधिवेशन नै गर्यो । कांग्रेसले पनि वैदेशिक रोजगारीबाट फर्किएकालाई गोलबद्ध गर्ने योजना बनाएको छ । अर्कोतिर नयाँ दलको रुपमा स्थापित राष्ट्रिय स्वतन्त्र पार्टीले पनि वैदेशिक रोजगारीबाट फर्किएकालाई संगठित बनाउने तयारी गरेको छ ।

दैनिक २ हजारबढी वैदेशिक रोजगारीका लागि मात्र जाने गरेको तथ्यांक छ । यिनलाई रोक्न कुनै दलले ठोस योजना बनाएका छैनन् नत विदेशबाट फर्किएकालाई नै स्वदेशमै रोजगारीको वातावरण बनाउ प्रयास गरेका छन् ।

बस उनीहरु पार्टी सदस्यता बढाउने योजनामै बल दिनथालेका छन् । माओवादी निकट रिटर्नी सेन्टरमा आवद्ध भएकाहरु भने दलीय संगठनमा आवद्ध हुँनुपर्ने आवश्यकता रहेको बताउने गरेका छन् ।

सरकारी तथ्यांक अनुसार प्रतिवर्ष ५ लाख नेपाली युवा विदेशिने गरेका छन् । तिमध्ये ७४ प्रतिशत अदक्ष युवा खाडी लगायतका मुलुक जाने गरेका छन् । २४ प्रतिशत युरोप–अमेरिका जाने गरेको तथ्यांक छ ।

बाँकी रहेका २ प्रतिशत विभिन्न प्रयोजनका लागि विदेशीने गरेका छन् । ठूलो संख्यामा रोजगारीका लागि बाहिरिनेले दल र सरकारले स्वदेशमा काम गर्ने वातावरण नबनाएका कारण जानुपरेको बताउने गरेका छन् ।

विपन्नता, रोजगारीविहिनताको अवस्था, सानो–तिनो व्यापार व्यवसाय सञ्चालन गर्न झन्झटिलो व्यवस्था, सरकारी कर्मचारीको असहिष्णुता नै मुख्य कारण बनाउने पनि धेरै छन् । विदेशमा काम गरेर नयाँ शिप सिकेका यस्ता युवालाई स्वदेशमा भरपुर प्रयोग गर्नुको सट्टा दलीय झण्डा किन बोकाइयो त ?

स्वदेशमै रोजगारीको वातावरण बनाउन दलहरुले भूमिका खेल्न सक्नुपर्छ । विदेशबाट फर्किएकालाई झण्डा बोकाएर फगत नारा र सिद्धान्त घोकाउनु उपलब्धिमुलुक हुदैन । यस्ता संगठनबाट राजनीतिक दलसँग आवद्ध केहीको स्वार्थपूर्ति त होला, तर आम समस्या यथावत् रहन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *