Main News

सिटी स्क्यान मेसिन : १ वर्षमा ३ पटक बिग्रियो, मुसालाई दोष ! (भिडियो रिपोर्टसहित)

२०८० जेठ ३० गते २१:०३
सिटी स्क्यान मेसिन : १ वर्षमा ३ पटक बिग्रियो, मुसालाई दोष ! (भिडियो रिपोर्टसहित)

३० जेठ २०८० कास्की । नयाँ मेसिन जडान भएको एक वर्ष नपुग्दै पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको सिटी स्क्यान मेसिन बिग्रिएको छ ।

साउन २३ गते अस्पतालमा नयाँ मेसिनबाट सेवा सुरु गरिएपनि एक वर्षमै मेसिन तेस्रोपटक बिग्रिएको हो । मुसाले मेसिन बिगारेको भन्दै लाखौँ रुपैयाँमा औषधि खरिद गरियो । तर न मुसा मर्‍यो न त मेसिन नै बिग्रन छोड्यो ।

पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको ५ वर्ष वारेन्टी रहेको सिटी स्क्यान मेसिन १० महिनाको अवधिमा ३ पटक बिग्रेर थन्किएको छ ।
नयाँ किनेको मेसिन प्रयोगमै नआउँदै पटक–पटक समस्या देखिनुलाई पनि अनौठो मानिएको छ ।

यसअघि पनि मुसाको कारण मेसिन बिग्रेको निर्क्योल गर्दै अस्पतालले मुसा नियन्त्रणको उपाय खोजी गरेको थियो । त्यसका लागि १ लाख २० हजार रुपैयाँ खर्च पनि भयो । तर, नतिजा निस्किएन । बरु मेसिन बिग्रने क्रम रोकिएन । सिटी स्क्यान मेसिन नेदरल्यान्ड्सको फिलिप्स कम्पनीसँग ७ करोड रुपैयाँमा किनेर ल्याइएको थियो ।

८ वर्षअघि ७० लाख रुपैयाँ खर्चेर ल्याएको मेसिन १ वर्षमै बिग्रियो । त्यसपछि ७ वर्षसम्म क्षेत्रीय अस्पताल सिटी स्क्यानविहीन भयो । बिरामीले निजी अस्पतालमै पुगेर सेवा लिन बाध्य भए ।

चर्को जनदवाव पछि सिटी स्क्यान मेसिन फिलिप्स कम्पनीसँग किनेर ल्याइयो । मेसिन बिग्रिएमा ५ वर्षसम्म कम्पनीले नै जिम्मा लिनुपर्ने सम्झौतामा उल्लेख छ । तर मर्मत भएको छैन । अन्य नियमित सेवा समेत प्रभावकारी हुन नसक्दा उपचारमा सास्ती खेपेका बिरामीले अत्यावश्यक स्वास्थ्य परीक्षण गर्ने मेसिन बिग्रदा थप दुखः बेहोर्न बाध्य भएका छन् ।

प्रदेशकै ठूलो सरकारी अस्पतालमा सिटी स्क्यान मेसिन नहुँदा बिरामी निजी अस्पताल जान बाध्य छन् । मेसिनले दैनिक ३५ वटासम्म सिटी स्क्यान गदै आएको थियो । बिरामीको एकपटक सिटी स्क्यान गर्दा सरकारी अस्पतालमा ३ हजार रुपैयाँ पर्छ । निजीमा भने ८ हजार रुपैयाँ लाग्छ । लामो प्रयासपछि जाडान गरिएको सिटी स्क्यानको सेवा ६ दिनदेखि अवरुद्ध भएपछि सेवाग्राही मर्कामा परेका छन् ।

अस्पताल प्रशासनले सिटी स्क्यान गर्नुपर्ने बिरामीहरूलाई हरियोखर्क अस्पतालमा पुर्‍याएर पुनस् अस्पतालमा ल्याउने गरी गाडीको व्यवस्था गरेको छ । तर हरियोखर्क अस्पतालको मेसिनले पनि दैनिक ५र६ वटा भन्दा बढी स्क्यान गर्न नसक्ने भए पछि विरामी निजी क्लिनिकमा जान बाध्य भएका छन् । सेवाग्राहीले रिपोर्ट पाउन ४ दिन सम्म कुर्नपर्ने बाध्यता छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *