Main News

गोठाटारको जग्गामा पशुपति क्षेत्र विकास कोष र तेजविनायक माविको आ-आफ्नै दाबी !(भिडियो रिपोर्टसहित)

२०८० जेठ ३० गते २०:४९
गोठाटारको जग्गामा पशुपति क्षेत्र विकास कोष र तेजविनायक माविको आ-आफ्नै दाबी !(भिडियो रिपोर्टसहित)

३० जेठ २०८० काठमाडौं । पशुपति क्षेत्र विकास कोषको नाममा दिइएको काठमाडौंको गोठाटारमा रहेको ५ सय रोपनीभन्दा बढी जग्गा अहिले खोजी सुरु भएको छ ।

त्यसमध्ये झण्डै पाँच रोपनी जग्गा तेजविनायक माध्यामिक विद्यालयको नाममा रहेको पशुपति क्षेत्र विकास कोषले दाबी गरेको छ । तर, विद्यालयले भने त्यति जग्गा कोषलाई दिनुअघि नै विद्यालयको नाममा रहेको दाबी पेश गरेको छ ।

तत्कालीन सरकारले विक्रम संवत् २०४७ सालमा काठमाडौं गोठाटारको ५ सय ३५ रोपनी ३ आना सार्वजनिक जग्गा पशुपति क्षेत्र विकास कोषको नाममा दर्ता गरायो । त्यसबेला प्रयोगमा नल्याएको कोषको जग्गा अहिले खोजीमा छ ।

कोषले पाशुपत क्षेत्रका विभिन्न गुरुयोजना अघि सार्दै गर्दा २०७७ साल फागुन १८ गते पुनः जग्गा नापी गर्यो । पछिल्लो नापीमा ५ सय ४ रोपनी ३ आना १ पैसा जग्गा मात्र रहन गयो । बाँकी हराएको मध्ये ५ रोपनी जग्गा सँधियार तेजविनायक माध्यामिक विद्यालयको नाममा दर्ता भएको कोषले दाबी गरेको छ ।

तर, विक्रम संवत् २०२१ सालमा भएको नापीबाट विद्यालयको नाममै १७ रोपनी ७ आना जग्गा रहेको पाइएको छ । कोषले दाबी गरेको ५ रोपनी जग्गा पनि यसैभित्र पर्छ । विद्यालय व्यवस्थापनले कोषले २०४७ सालमा पाउनुअघि नै २०२१ मा आफ्नो नाममा जग्गा भएको प्रमाण रहेको बताएको छ । उसले कोषको आरोप ठाडै अस्वीकार गरेको छ ।

कोषले जग्गा पाउनु भन्दा झण्डै २६ वर्ष अघि नै दर्ता भएका कारण विद्यालयको दाबी स्वभाविक रुपमा बलियो देखिन्छ । तर कोषले भने विद्यालयले पाँच रोपनी जग्गा अतिक्रमण गरेको आरोप लगाउँदै आफ्नो जग्गा फिर्ता ल्याउन पहल गर्ने बताउँदै आएको छ ।

कोषको बाँकी जग्गा सुकुम्बासीको नाममा अतिक्रमण गरिएको आरोप लाग्दै आएको छ । पूर्वमन्त्री प्रेम आलेले त संसदमै कोषको हराएको भनिएको जग्गा सुकुम्बासीको नाममा कब्जा गरिएको र मिलेमतोमा संस्कृृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले साविक कायम गर्न हतारिएको आरोप लगाउनुभएको छ ।

सुकुम्बासी वा अन्य नाममा मिचिएको जग्गा खोज्नुभन्दा सामुदायिक विद्यालयकै नाममा रहेको जग्गामा कोषले किन आँखा लगाएको छ ? प्रश्न उठ्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *