Main News

प्रचण्ड र बाबुरामसँग सर्वोच्चले माग्यो लिखित जवाफ

हिमालय टिभी
२०८० जेठ ३० गते १८:१६
प्रचण्ड र बाबुरामसँग सर्वोच्चले माग्यो लिखित जवाफ

३० जेठ २०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध परेको युद्ध अपराधको मुद्दामा सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।

न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासमा भएको प्रारम्भीक सुनुवाइपछि रिटलाई अग्राधिकार दिने आदेशसमेत भएको छ । तत्कालीन माओवादीका बाल सैनिक लेनिन विष्टले युद्ध अपराधमा कारबाहीको माग गर्दै प्रचण्ड र बाबुराम भट्टराईविरुद्ध रिट दर्ता गर्नुभएको थियो ।

सशस्त्र युद्धताकाका बालसेना विष्ट पछि अनमिनको प्रमाणीकरणमा अयोग्य ठहरिएका थिए। यसअघि विष्टको रिट सर्वोच्च प्रशासनले संक्रमणकालीन न्याय अनुरुप निरुपण हुने भन्दै दरपीठ गरिदिएको थियो। दरपीठविरुद्ध दिएको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले गत शुक्रबार रिट दर्ता गर्न आदेश दिएको थियो ।

यसअघि पनि द्वन्द्वकालीन मुद्दाको विषयलाई लिएर माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डविरुद्ध परेको अर्को मुद्दा सर्वोच्चमा विचाराधीन छ । यसअघि फागुन २३ गते प्रधानमन्त्री प्रचण्डलाई विपक्षी बनाएर दायर मुद्दा सर्वोच्चमा विचाराधीन छ ।

शान्तिप्रक्रिया ६ महिनाभित्रै टुंगो लगाउने भनिए पनि राजनीतिक नेतृत्वले चासो नदिई १७ वर्षसम्म झुलाएर राखेपछि यो विषय सर्वोच्चबाटै निरुपण हुनुपर्ने अवस्था आएको वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेको तर्क छ ।

माओवादी केन्द्रका नेताहरू भने द्वन्द्वकालीन घटनालाई नियमित अदालतमा प्रवेश गराउनु उचित नहुने तर्क गर्छन् । प्रचण्डविरुद्ध दर्ता भइरहेका मुद्दा राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको माओवादीको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *