Main News

मधेस प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

हिमालय टिभी
२०८० जेठ ३० गते १३:५३
मधेस प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

३० जेठ २०८० धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिनेभएपछि आकस्मिकरुपमा प्रदेशसभाको बैठक बोलाइएको छ ।

आज साँझ ५ बजे बोलाइएको बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिने तयारी गर्नुभएको हो । पुस २७ गते मुख्यमन्त्री नियुक्त यादवलाई समर्थन गरेको मुख्य घटक एमालेले संघीय सत्ता समीकरणमा आएको फेरबदलपछि गत जेठ १ गते समर्थन फिर्ता लिएको थियो भने चैत २१ गतेनै सरकारबाट बाहिरिएको थियो ।

सरकारलाई समर्थन दिएको कुनै दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र पुनः विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेकाले भोलिसम्म मुख्यमन्त्री यादवले विश्वासको मत लिनैपर्नेछ । ३० दिन बित्दा अदालतमा सरकारविरुद्ध रिट परेर कानुनी अड्चन आउन सक्ने देखेपछि मुख्यमन्त्री यादवले आकस्मिक रुपमा विश्वासको मत लिन लाग्नुभएको हो।

यसअघि विश्वासको मत लिन कुनै चासो दिइएको थिएन । त्यसैले आकस्मिकरुपमा सदन बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ । यस्तै मुख्यमन्त्री यादवले प्रदेशसभामा १३ सिट रहेको जनमत पार्टीलाईसमेत विश्वासमा लिनुभएको छ ।

जनमतका मन्त्रीलाई विनाविभागीय बनाएपछि यो दल रुष्ट बनेको थियो । तर, एक–दुईदिनमै मन्त्रालयले दिने सहमति बनेको जनमतका संसदीय दलका नेता महेशप्रसाद यादवले जानकारी दिनुभयो ।

त्यस्तै मन्त्रालय भागवण्डामा रुष्ट बनेको माओवादी केन्द्रसँग पनि अनौपचारिक सहमति जुटेको मुख्यमन्त्री यादवको सचिवालयले जनाएको छ ।

प्रदेशसभामा एमालेका २३ , कांग्रेस २२, जसपा १८, जनमत १३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र माओवादी केन्द्रका ९–९, एकीकृत समाजवादीका सात सांसद छन् भने नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक–एक जना सांसद छन् । यस्तै ३ जना स्वतन्त्र सांसद छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *