राजनीति

कांग्रेसले आगामी चुनावमा कसैसँग तालमेल गर्दैन : महामन्त्री थापा

२०८० जेठ ३० गते १३:१२
कांग्रेसले आगामी चुनावमा कसैसँग तालमेल गर्दैन : महामन्त्री थापा

३० जेठ २०८० मकवानपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी चुनावमा कांग्रसले कुनै पनि पार्टीसँग तालमेल नगर्ने बताउनुभएको छ ।

कांग्रेस मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं २ र प्रदेशसभा–२ को संयुक्त आयोजनामा सोमबार हेटौँडामा भएको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै महामन्त्री थापाले कांग्रेस विचारप्रधान पार्टी भएकाले बरु सरकार छाड्नुपरे छाड्ने तर, कांग्रेसले कसैसँग सम्झौता नगर्ने स्पष्ट पार्नुभयो ।

साथै उहाँले त्यसलाई स्थापित गरिनुपर्नेमा जोड दिनुभयो । चुनावअघि नै गठबन्धन गर्दा पार्टीप्रतिको विश्वास डगमगाउने अवस्थालाई मध्यनजर गर्नुहुँदै जनताको निराशालाई चिर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले आम नागरिकमा राजनीतिप्रति वितृष्णा जागेको, आत्मविश्वास र आशा गुमाइरहेको भन्दै आफ्नो पार्टीले जनताको भावनामा आँच नआउने गरी काम गर्ने दृढता व्यक्त गर्नुभयो ।

नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले कांग्रेस एकजुट भएर जनताको हितमा लाग्नुको विकल्प नभएको बताउनुभयो । उहाँले नागरिकमा छाएको निराशा चिर्न काम गरेर देखाउनुपर्नेमा जोड दिनुभयो ।

नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, पूर्वसभापति माइकल रामचन्द्र अर्याल, रघुरमण न्यौपाने, पार्टी जिल्ला उपसभापति आनन्द कठायत, सचिव ईश्वर पाठक, सहसचिव इन्दिरा न्यौपाने प्रतिनिधिसभा क्षेत्र नं १ का सभापति दामोदर खनाल, मकवानपुर क्षेत्र नं २ का सभापति लोक मुक्तान, चितवन क्षेत्र नं १ का सभापति किरण वली, महासमिति सदस्य राजकुमार मल्ल, राजेश भेटवाल, मकवानपुर प्रदेशसभा १ का सभापति सुशान्त श्रेष्ठ, मकवानपुर प्रदेशसभा २ का सभापति रञ्जन कालाखेती, थाहा नगरसभापति प्रमोद जोशी, मनहरि–८ का सभापति भीमसेन लामालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्