Main News

बागमती प्रदेश सरकार : तालिम-गोष्ठीमा १ अर्ब ३८ करोड स्वाहा ! (भिडियो रिपोर्टसहित)

२०८० जेठ २९ गते २१:१८
बागमती प्रदेश सरकार : तालिम-गोष्ठीमा १ अर्ब ३८ करोड स्वाहा ! (भिडियो रिपोर्टसहित)

२९ जेठ २०८० मकवानपुर । बागमती प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सभा हलको निर्माण १८ महिनाभित्र सक्ने गरी २०७७ मंसिर १० मा शिलान्यास गर्‍यो ।

पाँच करोड २६ लाख ८३ हजार ३६० रुपैयाँको लागतमा निर्माण गर्ने गरी सम्झौता भएको सभाहल अहिलेसम्म २५ प्रतिशत मात्रै बन्यो । तर, यो बीचमा सभा हल नहुँदा विभिन्न होटलमा गरिने कार्यक्रम, तालिम र गोष्ठीमा प्रदेश सरकारले चार वर्षमा १ अर्ब ३८ करोडभन्दा बढी खर्च गरेको छ । प्रदेश सरकारको उदासिनताले करोडौँ रुपैयाँ पानी झैँ बगाइएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्माणाधीन सभा हल हेटौँडा उपमहानगरपालिका कार्यालय र प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको बीच्चमा छ ।

मुख्यमन्त्री कार्यालयबाट एक मिनेटमा पुगिने सभा हल निर्माणस्थल अगाडिको बाटो भएर मुख्यमन्त्री, मन्त्री, प्रमुख सचिवलगायतका उच्च अधिकारी दैनिक आवतजावत गर्छन् । तर तोकिएको समयमा निर्माण पूरा नभएको सभाहलबारे कसैलाई चासो र सरोकार छैन । निर्माण कम्पनी संरक्षण इन्जिनियरिङ कन्स्ट्रक्सन जेभीले शिलान्यासको समयमा तोकिएको समयमा निर्माण पूरा गर्ने बताए पनि अहिलेसम्म सभा हलको डिपीसी गरी फलामे पोल मात्रै ठड्याइएको छ ।

पहिलो कार्यकालमा प्रदेशले तीन मुख्यमन्त्री पायो भने अहिले बनेका मुख्यमन्त्रीसहित चार जना मुख्यमन्त्री भइसके । यस अवधिमा एक जना राज्यमन्त्री र चार जना भौतिक पूर्वाधार विकासमन्त्री फेरिएका छन् । सरकारको आफ्नै सभाहल नहुँदा प्रदेशका साना कार्यक्रमसमेत महँगा होटलमा गर्नुपर्ने अवस्था छ ।

सभा हल नहुँदा होटलमा गरिने कर्मचारी तालिम र सीप विकास तथा जनचेतना तालिम तथा गोष्ठी सम्बन्धी खर्चमा मात्रै करोडौँ रुपैयाँ खर्च भएको छ ।

आर्थिक वर्ष २०७५-७६ –
कर्मचारी तालिम खर्च स् २ करोड ३४ लाख ८४ हजार ६ सय ८२
सीप विकास तथा जनचेतना तालिम तथा गोष्ठी सम्बन्धी खर्च स् ४९ करोड २९ लाख ५ हजार ६ सय ३७
कुल स् ५१ करोड ६३ लाख ९० हजार ३ सय १९

आर्थिक वर्ष २०७६-७७ –
कर्मचारी तालिम खर्च स् ३ करोड ८१ लाख ५४ हजार ३ सय ५४
सीप विकास तथा जनचेतना तालिम तथा गोष्ठी सम्बन्धी खर्च स् २५ करोड ६२ लाख १३ हजार ३ सय ८
कुल स् २९ करोड ४३ लाख ६७ हजार ६ सय ६२

आर्थिक वर्ष २०७७-७८ –
कर्मचारी तालिम खर्च स् ४ करोड ९७ लाख ४ हजार २ सय ७
सीप विकास तथा जनचेतना तालिम तथा गोष्ठी सम्बन्धी खर्च स् २४ करोड ६८ लाख २० हजार १ सय ९५
कुल स् २८ करोड ७७ लाख ९४ हजार ४ सय २

आर्थिक वर्ष २०७८-७९ –
कर्मचारी तालिम खर्च स् ६ करोड २८ लाख ४३ हजार ८ सय ५५
सीप विकास तथा जनचेतना तालिम तथा गोष्ठी सम्बन्धी खर्च स् २२ करोड ६७ लाख ९८ हजार ८ सय ९७
कुल स् २८ करोड ९६ लाख ४२ हजार ७ सय ५२

गएको चार वर्षमा प्रदेश सरकारले तालिम र गोष्ठीका नाममा १ अर्ब ३८ करोड ८१ लाख ९५ हजार १ सय ३५ खर्च गरेको छ । खर्च भएको मध्ये झण्डै आधा पैसा हल भाडामा मात्रै गएको छ ।

सभाहल निर्माणको ठेक्का पाएको संरक्षण इन्जिनियरिङ कन्स्ट्रक्सन जेभी अझै म्याद थपको प्रयासमा छ । सम्झौताअनुसार काम नभएको र गुणस्तरहीन काम भएको भन्दै निर्माण कम्पनीको कामप्रति असन्तुष्टि बढेको छ भने प्रेदश सरकारको गति र औचित्यमाथि समेत प्रश्न उठेको छ ।

मन्त्रिपरिषद् कार्यालयको सभा हल समयमा निर्माण नभएपछि जग्गा उपलब्ध गराएको उपमहानगरपालिकाले आफ्नै लगानीमा संरचना निर्माणको तयारी थालेको छ । उपमहानगरले प्रदेश सरकारलाई हल निर्माण गर्न निर्णय नभई सहमतिपत्रसहित २०७७ वैशाख १८ गते पत्राचार गरेको थियो । हल निर्माणको खर्च प्रदेशले गर्ने, कार्यक्रम हुँदा प्रयोग गर्ने र हलको रेखदेख उपमहानगरले गर्ने सहमतिसहित जग्गा उपलब्ध गराइएको थियो । तर, प्रदेश सरकारले भने निर्माण कम्पनीलाई म्याद थप गराउने तयारी गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *