Main News

कमजोर बनाउन खोजिँदै नक्कली शरणार्थी मुद्दा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० जेठ २९ गते २१:०२
कमजोर बनाउन खोजिँदै नक्कली शरणार्थी मुद्दा (भिडियो रिपोर्टसहित)

२९ जेठ २०८० काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरण ‘हाई प्रोफाइल’ मुछिएको मुद्दा हो । पूर्वउपप्रधानमन्त्री र पूर्वगृहमन्त्रीसहित बहालवाला सरकारका सचिवसम्म मुछिएको यो प्रकरणमा अहिले थुनछेक बहस जारी छ ।

यो प्रकरणमा ३० जनालाई प्रतिवादी बनाइएकोमा १८ जना पक्राउ परेका छन् भने १४ जना फरार छन् । प्रहरीसँगको बयानमा पक्राउ पर्नेले केही ‘उच्च पदस्थ’को पनि नाम लिएका थिए । तर, उनीहरुमाथि सामान्य सोधपुछ पनि भएन् । पक्राउ पर्ने क्रम जहाँ पुगेर ‘ल्याण्डिङ’ भयो थुनछेक बहस पनि त्यस्तै होला भन्ने शंका बढेको छ । अर्थात् प्रतिवादी तारेखमा छाड्न सक्ने सम्भावना बढेको देखिन्छ ।

अदालतमा नक्कली शरणार्थी प्रकरणको मुद्दामाथि बहस जारी रहँदा यसमा मुछिएका र पोलिएकासँग नजिक रहेकाले सञ्चारमाध्यामलाई सामाजिक सञ्जालमार्फत ‘विशाल असफलता’ पाएको भन्दै व्यंग्य गरेका छन् । अर्थात् यो टिप्पणीको अर्थ हुन्छ कि नक्कली शरणार्थी प्रकरण छिट्टै ढिसमिस हुँदैछ ।

यो ट्वीट गर्ने व्यक्ति हुन्, युलेन्स स्कुलका संस्थापक अध्यक्ष सोम पनेरु । यो स्कुलको व्यवस्थापन समितिकी अध्यक्ष भने कांग्रेस नेतृ आरजु राणा देउवा रहेकी छन् । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकाले प्रहरीसँगको बयानमा उनको नामसमेत लिएको चर्चा थियो । पछि, यो प्रकरणमा जोडिएका दुईजनाले आरजुको नामसमेत लिएको टेलिफोन संवाद पनि बाहिरिएको थियो ।

त्यसैले ट्वीट पनेरुले आफैंले भन्दा पनि कतै आरजुकै आग्रहमा त गरेका होइनन् भन्ने सामाजिक सञ्जालमा टिप्पणी सुरु भएको छ । हुन पनि एक स्कुलका जिम्मेवार व्यक्तिले आफ्नो सञ्चालक पनि पोलिएको मुद्दामा यसरी बोल्नु अर्थपूर्ण छ ।

हुन त अदालतमा बहस जारी रहेको विषयमा के हुन्छ के हुन्न् भनेर अड्कलबाजी गर्नु जायज होइन् । तर, मुद्दामा मुछिएकासँग नजिककै सम्बन्ध भएकाबाट आउने यस्ता सार्वजनिक अभिव्यक्तिले भने कतै छुट्न लागेको त होइन भन्ने आशंका गर्नेलाई थप बल पुर्याएको छ ।

के हुँदै छ, नक्कली शरणार्थी प्रकरणमा ?
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जेठ १० गते जिल्ला अदालतमा मुद्दा दर्ता गर्‍यो । प्रहरीले ५९ दिन लामो अनुसन्धानपछि जेठ ८ गते रायसहितको प्रतिवेदन बुझायो । प्रहरीको रायमा सरकारी वकिलले मुद्दा दर्ता गरेपछि जेठ २१ गतेबाट थुनछेक बहस सुरु भयो ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा जारी थुनछेक बहसको सुरुवात वादीको तर्फबाट सरकारी वकिलले गरे । ८ जना सरकारी वकिलले जेठ २१, २२ र २३ गते तीन दिन बहस सके । उनीहरुले अधिकतम सजायको माग गरे । जेठ २४ देखि प्रतिवादीकातर्फबाट बहस गरेका वकिलहरुले भने सजाय माफीको माग गरेका छन् ।

यसअघि पक्राउ परेका १८ जनाले नै अदालतमा इन्कारी बयान दिएका छन् । पक्राउ पर्नेमध्ये पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाणले त ‘आफ्नो राजनीतिक भविष्य सिध्याउन नियोजित रुपमा लागियो’ भन्ने बयान दिएका छन् । उनीहरुकातर्फबाट बहस गर्ने वकिलले पनि थुनामा राख्ने यथेष्ट प्रमाण नपुग्ने दावी गरेका छन् । त्यसैले प्रतिवादीहरुलाई मुद्दामा सफाइ दिन उनिहरुले माग गरेका छन् ।

यसअघि पक्राउ परेका प्रतिवादीहरु सानु भण्डारी, केशव दुलाल र टेकनाथ रिजालले प्रहरीसँगको बयानमा अन्य केहीलाई पोलेका थिए । जसमा प्रहरीले सामान्य सोधपुछसम्म गरेको थिएन् । जसबाट प्रहरीले मुद्दा एउटा तहमा पुर्याएर ‘सेटल्ड’ गर्‍यो भन्ने आरोप खेप्यो ।

प्रतिवादीले प्रहरीसँगको बयानमा एमाले नेता अजय क्रान्ति शाक्य, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका पत्नी नैनकला थापा, कांग्रेस सभापति शेर बहादुर देउवाका पत्नी आरजु देउवा, पूर्वगृहमन्त्री बालकृष्ण खाणकी पत्नी मञ्जु खाण, तत्कालीन गृहसचिव तथा हाल अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राई लगायतलाई पैसा दिएको भन्दै पोलका थिए । प्रतिवादीले नाम किटान गरेकामाथि सामान्य सोधपुछ किन नगरेको भन्दै बहसका क्रममा सरकारी वकिलले समेत प्रश्न गरेका थिए ।

मुद्दामा पोलिएकासँग निकट रहेकाबाट सामाजिक सञ्जालमा खुसी साट्न थापेपछि जसरी प्रकरणको सुरुवात भएको थियो त्यसको क्लाइमेक्स ‘ढिसमिस’ हुन्छ कि भन्ने शंका बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *