झारफुकका नाममा ठगी धन्दा, प्रहरी मौन (भिडियो रिपोर्टसहित)
२८ जेठ २०८० काठमाडौं । हल्लाको पछि लाग्नु हाम्रोजस्तो समाजको चरित्र हो । पछिल्लो समय सामाजिक सञ्जालबाट हल्ला चलाउने र त्यसैबाट व्यापार गर्नेहरुको संख्या बढिरहेको छ ।
त्यतिमात्र होइन हल्लैहल्लाबाट मानिसको जीवनमाथि नै खेलवाड हुन थालेको छ । आफूमा अलौकिक शक्ति आएको भन्दै सिन्धुपाल्चोकका २९ वर्षीय युवक प्रकाश भुजेलले पनि काठमाडौंमा यस्तै व्यापार गरिरहेका छन् । झारफुकका नाममा चलाइरहेको उनको धन्दामा प्रहरी–प्रशासन अझै मौन छ ।
प्रकाश भुजेल गुरु र धामीझाँक्रीका नामले भाइरल छन् । बोल्न नसक्ने र कान नसुन्ने व्यक्तिलाई समेत झारफुक र तन्त्रमन्त्रबाट निको पार्ने भन्दै उनले काठमाडौंमा अनौठो व्यापार चलाइरहेका छन् । अनि उनको यो व्यापारबारे नजानी नबुझी पछ्याउनेको संख्या पनि ठूलै छ ।
८ महिनादेखि काठमाडौंको जोरपाटी दक्षिण ढोका क्षेत्रमा संस्कृति पूजा केन्द्र नामको पसल नै खोलेर बसेका भुजेलले झारफुकबाट सबैजसो रोग निको पार्ने दाबी गर्दै आएका छन् ।
कतिपयले अन्धविश्वासमा राखेर ठगी धन्दा चलाएको भन्दै आलोचना गरे पनि उनीकहाँ आउनेहरुको भिड झन् बढिरहेको छ । स्वयमले आफूलाई गुरु र झाक्री भन्नुबाहेक बिरामीलाई उनीसँग परामर्श दिने विज्ञता के छ भन्नेबारे कसैलाई जानकारी छैन। बरु यसअघि उनी गाडी चालकका रुपमा काम रोजगारी गरिरहेका थिए ।
भुजेल आफूले सेवाभावले निशुल्क उपचार गर्ने गरेको दाबी गर्दैआएका छन् । तर कुनै खास व्यापार व्यवसाय नभएका उनी करिब एक दर्जन कर्मचारी वरिपरी राखेर हिँड्ने गर्छन् ।
यस्तो जम्बो टोलीको खानपान र बासको व्यवस्थापनले पनि उनले अलौकिक मनोबैज्ञानिक उपचारको नाममा ठूलो धनरासी कमाईरहेका छन भन्ने पुष्टि गरिरहेको छ । तर अस्पतालले नै उपचार गर्न नसक्ने रोगको झारफुकबाट उपचार गर्ने नाममा गरिरहेको व्यापार नियन्त्रणमा प्रहरीसमेत मुकदर्शक बनेको छ ।
प्रकाश भुजेलले झारफुक मात्र गर्दैनन्, आफूकोमा आइपुगेका बिरामीलाई झारफूकपछि ठिक भएको भन्न लगाएर भिडिओसमेत बनाउने र सामाजिक सञ्जालमा राखेर प्रचार गर्ने कामसमेत गरिरहेका छन् ।
अन्धविश्वासलाई प्रश्रय दिने र बिरामीको स्वास्थ्य झन जोखिममा पार्नेगरी भइरहेको यस्तो कार्यको समाचार प्रसारण गर्दा उनी हिमालय टेलिभिजनविरुद्धसमेत नियोजित रुपमा गालीगलौचमा उत्रिएका छन् ।
उनका हर्कत यत्तिमा सीमित छैनन् ।झारफुकका लागि आइपुग्नेलाई टाउको तथा शरीरका विभिन्न अंगमा चामल र फूलपातीले थप्थपाउने गर्छन् ।
उपचारका नाममा सेवा मात्र होइन व्यापार नै चलाउन कम्पनी दर्ता गरेर बसेका उनी रोगले च्यापेर असहज भएकाहरुको भावनासँग खेलवाड गर्ने र मनोवैज्ञानिक दबाब सिर्जना गर्ने काममासमेत सक्रिय देखिन्छन् ।
प्रतिक्रिया