Main News

प्रधानमन्त्रीको मन्दिर यात्रा, के को संकेत ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० जेठ २८ गते २०:२०
प्रधानमन्त्रीको मन्दिर यात्रा, के को संकेत ? (भिडियो रिपोर्टसहित)

२८ जेठ २०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको करणी र कथनीमा विरोधाभाष देखिएको छ । एकातिर धर्मनिरपेक्षता वा धार्मिक स्वतन्त्रताको पक्षपाती बनेजस्तो गर्ने र अर्कोतिर तीर्थाटन गरिरहने भूमिकाले उहाँको भूमिकामा प्रश्न उब्जिएको हो ।

त्यतिमात्र नभई नेपाललाई हिन्दु राष्ट्र घोषणाका लागि भारतले देखाइरहेको सक्रियताको साझेदार त बन्न थाल्नु भएको होइन ? भन्ने आशंकालाई समेत बल पुगेको छ ।

भारतको चार दिने भ्रमणक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ १९ गते मध्यप्रदेशको उज्यैनस्थित महाकालेश्वर मन्दिरमा पूजा गर्नुभयो । र, पूजामा सरिक थिए ५ मन्त्री पनि। प्रधानमन्त्रीले रुद्राक्ष र ५१ हजार रुपैयाँ दान गर्नुभयो ।

महाकालेश्वरमा भक्तिभाव गरेको ठीक ९ दिनपछि प्रधानमन्त्री दाहाल हिजो (शनिवार) पशुपतिनाथ मन्दिर पुग्नुभयो, भारत गएकै मन्त्रीका साथ। बताइएअनुसार करिब ३५ मिनेटको पूजा(अर्चनासँगै प्रधानमन्त्रीले ५१ हजार रुपैयाँ दान पनि गर्नुभयो ।

प्रधानमन्त्री दाहालको एकपछि अर्को मन्दिर यात्रालाई लिएर टिप्पणी भइरहेको छ। आस्तिक समूहले ‘रुपान्तरण’ र नास्तिक समूहले ‘पतनको सुरुवात’ भनिरहेका छन्। पक्ष र विपक्षका तर्कबीच पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको टिप्पणी चाहिँ अलि तिख्खर छ। उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ,

‘यो एक्लै कोही कुनै धार्मिकस्थल जाँदा प्रश्न उठाउन मिल्दैन। त्यो उसको निजी आस्थाको कुरा हो। तर, जब पूरै मन्त्रीमण्डल एकैसाथ जान्छ, तब त्यो राजनीति हुन्छ र प्रश्न उठ्छ !’

भट्टराईले भने झैं प्रधानमन्त्री दाहालले महाकालेश्वर र पशुपतिनाथको पूजा(अर्चना गर्नु ‘आस्था हो कि राजनीतिरु’ बहस सुरु भएको छ।

भारत, नेपाल हिन्दू राष्टमै फर्कियोस् भन्ने चाहन्छ। जुन कुरा प्रधानमन्त्री दाहालसँगको भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोहोर्‍याएको केही भारतीय सञ्चारमाध्यमको दाबी छ। ‘हिन्दूत्व’को सांकेतिक सन्देशकै लागि भारतले दाहाललाई महाकालेश्वरको मन्दिरसम्म पुर्‍याएको चर्चा पनि गरियो। मोदीसँग धर्मबारे कुरा नभएको जिकीर गरेका प्रधानमन्त्री दाहालले महाकालेश्वरको पूजा(अर्चनामा भने ‘होष्ट’ बलशाली भएको स्वीकार गर्नुभएको छ । अर्थात्, भारतको चाहनाअनुसारको धार्मिक सन्देश दिन दाहाल बाध्य हुनुभयो ।

महाकालेश्वर मन्दिरबाट चढाउन ‘प्रसाद’ नै ल्याए जसरी प्रधानमन्त्री दाहाल शनिबार उज्जैन गएकै टोलीसहित पशुपतिनाथ मन्दिर पुग्नुभयो। कतिपयले रुद्राभिषेक पूजासहित प्रधानमन्त्री दाहालले महाकालेश्वर मन्दिरबाट ल्याइएको जल पशुपतिनाथमा चढाइएको दाबी पनि गरेका छन्। ‘आँगनमै भएको पशुपतिनाथ कहिल्यै नजाने तर भारतलाई खुसी पार्न महाकालेश्वरको पूजा गर्नेरु’ भन्ने प्रश्नको जवाफ दिन सायद प्रधानमन्त्री पशुपति पुग्नुभएको होला । तर, सन्देश चाहिँ धार्मिक नै बढि भएको छ।

बाबुराम भट्टराईजस्तै धर्मनिरपेक्षतावादी, प्रधानमन्त्री दाहालको मन्दिर यात्रालाई राजनीतिक दृष्टिले हेर्ने नै भए। किनकी, धर्मनिरपेक्ष देशका प्रधानमन्त्री मन्त्रिमण्डलका सदस्यकै हुल लिएर एकपछि अर्को मन्दिर यात्रामा निस्किएका छन्, त्यो पनि भारतले ‘हिन्दूत्व’को मन्त्र जपेर पठाएको भनिएका बेला। अर्कातिर, नेपाल फेरि ‘हिन्दू राष्ट’ हुनैपर्छ भन्ने अर्को पक्ष प्रधानमन्त्री दाहालमा आएको भनिएको ‘रुपान्तरण’ले हौसिन खोज्दै छ। यो पक्ष ‘हिन्दू राष्ट्रका लागि परिस्थिति अनकूल बन्दै गएको ठम्याउँछ।

एकातिर ‘क्रान्तिकारी’ कम्युनिष्टको पृष्ठभूमि र धर्मनिरपेक्ष राष्ट्रको प्रधानमन्त्री। अर्कातिर भू(राजनीतिक परिस्थिति र ‘हिन्दूत्व’को बढ्दो आन्तरिक मुद्दा, प्रधानमन्त्री दाहाल मन्दिर जाँदा पनिरनजाँदा पनि धर पाउने अवस्थामा भने हुनुहुन्न। क्रान्तिकारी र कार्यकारीको ‘धार्मिक आस्था’ समान नहुन पनि सक्ने यथार्थलाई प्रधानमन्त्री दाहालले थप राजनीतिक व्याख्या कसरी गर्नुहुन्छ, त्यसले नै हिन्दूत्व र धर्मनिरपेक्षताको बहस बढाउने छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *