Main News

संसदमा राजसंस्थाको वकालत नगर्न ज्ञानेन्द्र शाहीलाई सांसद दाहालको चेतावनी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० जेठ २८ गते १७:३५
संसदमा राजसंस्थाको वकालत नगर्न ज्ञानेन्द्र शाहीलाई सांसद दाहालको चेतावनी (भिडियो रिपोर्टसहित)

२८ जेठ २०८० काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीलाई संसदमा राजतन्त्रको वकालत नगर्न चेतावनी दिनुभएको छ ।

आजको प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद दाहालले राप्रपा प्रमुख सचेतक शाहीले संसद बैठकमा अराजकता देखाएको बताउनुभएको हो । उहाँले यो संसदले राजतन्त्रलाई नचिन्ने भन्दै शाहीलाई संविधान र गणतन्त्र मान्न आग्रह गर्नुभयो ।

उहाँले संसद राजसंस्थाको पैरवी गर्ने ठाउँ नभएको भन्दै रत्नपार्क र जुम्लामा गएर राजसंस्थाको पक्षमा आमसभा गर्न आग्रह दिनुभयो । सांसद दाहालले शाहीले प्रतिनिधि सभा बैठकको अन्तिममा नियमापत्ति गरेर आफ्नो कुरा राखेकोप्रति असन्तुष्टि व्यक्त गर्नुभयो ।

नियमापत्तिभन्दा बाहिर गएर अभिव्यक्ति दिएको भन्दै उहाँले संसदीय नियमावलिभन्दा बहिर गएर बोलेको उल्लेख गर्नुभयो । सभामुखले समेत नियमावलीभन्दा बाहिर गएर शाहीलाई बोल्न दिएको उहाँको भनाई छ । उहाँले संसद बैठक सञ्चालन गर्न सभामुखले कमजोरी गरिरहेको भन्दै आफ्नो कमजोरी सच्याउन पनि आग्रह गर्नुभयो ।

सांसद दाहालले जनताको खबरदारीका कारण प्रतिपक्षी नेकपा(एमाले) नागरिकता विधेयकलाई स्वीकार्ने अवस्थामा पुगेको उल्लेख गर्नुभयो । उहाँले बजेटको न्यायोचित वितरण गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले मानव विकास सूचकांकमा जुन जिल्ला र पालिकाहरु पछि परेका छन् सोही आधारमा बजेट विनियोजन गर्नुुपर्ने बताउनु भयो । सरकारले पहुँचमुखी र मन्त्रीमुखी बजेट नल्याइ आवश्यकता र उपयोगिताको आधारमा बजेट ल्याउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

उहाँले पशुपतिनाथ मन्दिरको जलहरीमा भएको अनियमितता छानबिन नभएसम्म यो विषय नमर्ने बताउनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *