Main News

राप्रपाले संसदबाटै माग्यो प्रधानमन्त्रीको राजीनामा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० जेठ २८ गते १६:०५
राप्रपाले संसदबाटै माग्यो प्रधानमन्त्रीको राजीनामा (भिडियो रिपोर्टसहित)

२८ जेठ २०८० काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गरेको छ ।

आज बसेको प्रतिनिधि सभाको बैठमा समय माग गरी बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रधानमन्त्री दाहालको राजीनामा माग गर्नुभएको हो । उहाँले प्रधानमन्त्री दाहालको विरुद्धमा सर्वोच्च अदालतमा युद्ध अपराधको मुद्दा दर्ता भएको र सर्वोच्च अदालतले जेठ ३० गते अदालतमा उपस्थित हुन भनेको भन्दै प्रधानमन्त्रीले राजीनामा दिएर अदालती प्रक्रियालाई निष्पक्ष रुपमा अघि बढ्न दिनुपर्ने माग गर्नुभयो ।

उहाँले अदालतमा उपस्थित हुँदा प्रधानमन्त्री दाहाल प्रधानमन्त्री वा पुष्पकमल दाहालको हैसियतमा उपस्थित हुनुहुन्छ ? भन्दै प्रश्न गर्नुभयो । उहाँले अपराध जस्तो मुद्दा पर्दा प्रधानमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताउनुभयो । उहाँले प्रधानमन्त्री नैतिकताका आधारमा पनि पदमा बसिरहन नमिल्ने बताउनु भयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीको राजीनामा मागेपछि समय माग गरी बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले राप्रपा प्रमुख सचेतक शाहीले व्यक्त गर्नुभएको धारणा संसद रेकर्डबाट हटाउन माग गर्नुभयो ।

सांसदहरुको भनाइपछि सभामुख देवराज घिमिरेले आफ्नो ध्यान आकर्षण भएको बताउनु भयो । प्र्रतिनिधि सभाको अर्को बैठक सोमवार १ बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *