Main News

कोभिड उपचार केन्द्रमा एक अर्बभन्दा बढीका स्वास्थ्य सामग्री प्रयोगविहीन (भिडियो रिपोर्टसहित)

२०८० जेठ २७ गते १८:११
कोभिड उपचार केन्द्रमा एक अर्बभन्दा बढीका स्वास्थ्य सामग्री प्रयोगविहीन (भिडियो रिपोर्टसहित)

२७ जेठ २०८० मोरङ । कोरोना संक्रमण नियन्त्रणमा आएसँगै कोशी प्रदेशको कोशी कोभिड उपचार केन्द्रका एक अर्बभन्दा बढी मूल्यका स्वास्थ्य उपकरण प्रयोगविहीन भएका छन् ।

नागरिकस्तर र दातृ निकायले उपलब्ध गराएका स्वास्थ्य सामग्री एक वर्षदेखि प्रयोगविहीन हुँदा बिग्रने अवस्थामा पुगेका छन । तर यसको उचित व्यवस्थापन र सदुपयोगबारे कोशी प्रदेश सरकारले कुनै तयारी गरेको छैन ।

कोभिड सुरु भए लगत्तै नागरिक केयर सेन्टर र स्वीस सरकारको सहयोगमा विराटनगर महानगरपालिका वडा नम्बर १० स्थित नेसनल ट्रडिङको पुरानो भवन र गोदामलाई पुनर्निर्माण गरेर प्रदेश सरकार मातहतमा अत्याधुनिक उपकरणसहितको दुई सय शैय्याको कोभिड अस्पताल सञ्चालन गरिएको थियो ।

अस्पतालमा ३६ वटा भेन्टिलेटर, २१ वटा आइसियु, ४७ वटा एचडीयूको व्यवस्था छ। तर गएको गत ५ गते यता एक जना पनि सङ्क्रमित छैनन् ।

यसबाहेक स्वीस सरकारले त्यही बेला समयमा ९६ शैय्याका बेग्लै अस्पताल भवन निर्माण गरेर आवश्यक उपकरण उपलब्ध गराएको थियो । त्यो सबै अहिले प्रयोगविहीन छन ।

दातृ निकायले उपलब्ध गराएका करोडौँ मूल्यका स्वास्थ्य उपकरण जडान नै भएन । अर्बौँ मूल्यका स्वास्थ्य उपकरण प्रयोगविहीन रहेर बिग्रिने अवस्थामा पुग्दा समेत त्यसको उचित व्यवस्थापन हुन नसकेको भन्दै सरोकारवाला प्रदेश सरकारसँग आक्रोशित छन ।

नागरीकस्तर र दातृ निकायको आर्थिक तथा भौतिक सहयोगमा कोभिड सङ्क्रमण नियन्त्रणमा आएपछि यो अस्पताललाई कुनै विशेषज्ञ अस्पतालको रूपमा सञ्चालन गर्ने उद्देश्यले प्रदेश सरकारले यो अस्पताल स्थापना गरेको थियो । तर सत्ता टिकाउने र ढलाउने खेलमा लागेको प्रदेश सरकारले अहिले यसबारे सोच्न सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *