Main News

बजेटको छलफल औचित्यहीन बन्दै (भिडियो रिपोर्टसहित)

२०८० जेठ २६ गते २०:५२
बजेटको छलफल औचित्यहीन बन्दै (भिडियो रिपोर्टसहित)

२६ जेठ २०८० काठमाडौं । अर्थमन्त्री प्रकाशरण महतले जेठ १५ गते सार्वजनिक गर्नुभएको आर्थिक वर्ष २०८०–०८१ को बजेटमा प्रतिनिधिसभामा छलफल जारी छ ।

राष्ट्रिय सभामा बजेटमाथि उठेका प्रश्नको शुक्रबार मन्त्री महतले जवाफ दिइसक्नुभएको छ। छलफलमा सांसदहरुले बजेटको प्राथमिकता, करको दर निर्धारण, अर्थतन्त्र सुधार, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रको विकासबारे धेरै सुझाव दिएका छन् । तर ती सुझाव बजेटमा समावेश हुने भन्दा पनि संसदको रेकर्डमा मात्र रहने निश्चित छ । जसका कारण सांसदहरुले नै बजेट माथिको छलफल कर्मकाण्डी र औचित्यहीन भनेका छन् ।

प्रतिनिधि सभाका सांसदले आगामी आर्थिक वर्ष २०८०–०८१ को बजेट माथिको छलफलमा ५ दिन व्यतीत गरिसकेका छन् । यो अवधिमा ११२ भन्दा बढी सांसदले छलफलमा सहभागिता जनाइसकेका छन् ।

यसअघि सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा पनि सांसदहरुले सुझाव दिएका थिए । तर सुझाव कही कतै समावेश गरिएन हुबहु पारित गरियो । बजेटमा पनि छलफल गर्ने तर जस्ताको त्यस्तै पारित गर्ने पुरानै चलन हो । त्यसकारण अहिले चलिरहेको छलफललाई कर्मकाण्डी रुपमा मात्रै लिइएको छ ।

सांसदहरुलाई नै यो छलफल औचित्यहीन बन्दै गएको लागेको छ। लामो समय लिएर छलफल गर्ने तर मन्त्रीले ती सुझाव बजेटमा समावेश नगर्ने परिपाटीबाट सांसदहरु पनि सन्तुष्ट छैनन् । असन्तुष्टि रहँदा रहँदै पनि पार्टीको ह्विप विरुद्ध सांसद जाँदैनन् । अन्ततस् हुबहु पारित गर्छन् । विपक्षीले पनि कर्मकाण्डीरुपमै विरोध गर्छन ।

सांसदमा जति लामो छलफल गरेपनि परिमार्जन बिनै बजेट पारित हुने अभ्यास छ । तर जनप्रतिनिधिको सुझाव अनुसार संशोधन नगरे बजेट पास हुनै नदिने सत्ता पक्षकै सांसदहरुले चेतावनी दिएका छन् ।

सैद्धान्तिक छलफल सकिएपछि मन्त्रालयगत छलफल प्रारम्भ हुनेछ । बजेटको उद्धेश्य र कार्यान्वयनलाई प्रभावकारी बनाउन गरिने यस्तो कर्मकाण्डी मात्रै बन्दा समय र राज्यको ढुकुटीमाथिको बर्वादी मात्रै भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *