Main News

अखण्ड भारतको नक्सामा मौन समर्थन ! (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० जेठ २६ गते २०:३४
अखण्ड भारतको नक्सामा मौन समर्थन ! (भिडियो रिपोर्टसहित)

२६ जेठ २०८० काठमाडौं । भारतले आफ्नो संसदमा अखण्ड भारतको मुरल राखेको विषय अहिले विवादमा छ । पाकिस्तान र बंगलादेशले आपत्ति जनाइसकेको विषयमा नेपाल भने चुकेको छ ।

यो मुरल राखेलगत्तै प्रधानमन्त्रीको भारत भ्रमण भयो । तर, त्यो भ्रमणमा नेपालले चासोसम्म राखेन । नेपालले औपचारिकरुपमै असन्तुष्टि राख्ने मौका छाडिदियो ।

सम्राट अशोककालीन अखण्ड भारतको मुरल भारतले संसदमा राखेपछि नेपालमा नागरिकस्तरबाट त्यसको विरोध भयो । विरोधको कारण हो, सो चित्रमा नेपालको लुम्बिनी र कपिलवस्तुलाई पनि राखिनु । त्यो चित्रले तत्कालीन समयको भारतवर्षलाई प्रतिनिधित्व गर्छ । जुन इतिहासको कुरा हो । त्यो भित्ते चित्र इतिहासको स्मरणमात्रै हुन्थ्यो भने पाकिस्तान र बंगलादेश पनि बोल्ने थिएनन् ।

तर भारतमा अहिले नेतृत्व गरिररहेको भाजपाकै नेताहरुले आफुहरुको संकल्प भनेकै अखण्ड भारत हो भन्नुले चाहीँ गम्भीर प्रश्न खडा गर्छ । अझ नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा अतिक्रमण गरेको भारतले नेपालका जिल्ला राखेर मुरल राख्नु सामान्य नभएको कुटनीतिक मामलाका जानकारहरुले बताइसकेका छन् ।

आफ्नो भूमि नक्सामा राखिएको भन्दै बंगलादेशले भारतसँग नक्साबारे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ भने पाकिस्तानले पनि आपत्ति जनाएको छ । यहीबीचमा प्रधानमन्त्रीको भारत भ्रमणमा यो विषय उठ्ने धेरैको विश्वास थियो । एकातिर प्रधानमन्त्री आफुले कुरा उठाएको बताउँदा सँगै रहेका परराष्ट्रमन्त्री भने नक्साबारे नेपाललाई जानकारी नै नभएको अन्तर्वार्ता भारतीय एक टेलिभिजन च्यानलमा दिइरहेका थिए ।

अखण्ड भारत’को अभिव्यक्ति भारतको विस्तारवादी मानसिकताको उपजका रुपमा कतिपयले हेरेका छन् । प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा यो विषय नउठाएको भन्दै नेपालको संसदमा विपक्षी दलका सांसदहरुले आलोचना गरिरहेका छन् । जनस्तरमा पनि नक्साको विरोध भइरहेकै छ । तर, भारतीय विदेशमन्त्री जयशंकरले भने यस विषयमा नेपाललाई स्पष्ट पारिसकिएको बताएका छन् ।

भारतीय विदेशमन्त्रीको भनाइले नेपालको कुटनीतिक असफलता मान्नेहरु पनि छन् । सांसदहरुले नै सरकारको अकर्मण्यतामा प्रश्न उठाएका छन् ।

परराष्ट्रमन्त्रीले जानकारी नभएको बताएको र प्रधानमन्त्रीले झारा टार्न खोजेको विषयमा भारतका विदेशमन्त्रीले नेपालले बुझिसकेको भनेको के हो ? प्रश्न अनुत्तरित छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *