Main News

बजेट छलफलमा मन्त्रीको उपस्थित अनिवार्य गर्न सरकारको ध्यानाकर्षण

२०८० जेठ २५ गते १८:१३
बजेट छलफलमा मन्त्रीको उपस्थित अनिवार्य गर्न सरकारको ध्यानाकर्षण

२५ जेठ २०८० काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभामा बजेटमाथि छलफल हुँदा मन्त्रीको उपस्थिति अनिवार्य हुनेगरी व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद भैरवसुन्दर श्रेष्ठले आगामी आर्थिक वर्षको बजेटमाथिको जारी छलफलमा सम्बन्धित मन्त्रीको उपस्थिति नभएको भन्दै नियमापत्ति गर्नुभएको थियो ।

जवाफमा अध्यक्ष तिमिल्सिनाले सम्बन्धित मन्त्रीको उपस्थितिमा अर्थ मन्त्रालयका उपसचिव भन्दामाथि माथिल्लोस्तरका अधिकृत बैठकमा अनिवार्यरुपमा नोट गर्न पनि निर्देशन दिनुभयो ।

“आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल एकैपटक दुबै सदनमा चल्ने व्यवस्था भएकाले यस्तो अवस्थामा दुबैतिर एकै मन्त्रीलाई खोज्ने कुरा व्यावहारिक हुँदैन । मन्त्रीको उपस्थिति नभए बैठक नचल्ने विगतको परम्परा पनि हो ।त्यसैले म सरकार र अर्थमन्त्रालय र अर्थमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु”, अध्यक्ष तिमिल्सिनाले भन्नुभयो ।

बैठकमा बोलेको विषय नोट नगरी कसरी जवाफ दिनसकिन्छ भन्दै अध्यक्ष तिमिल्सिनाले अनिवार्य रुपमा बसेर सबै रिपोर्ट टिपोट गर्ने व्यवस्था गर्नुपर्ने ध्यानाकर्षण गराउनुभयो ।

सांसद भैरवसुन्दर श्रेष्ठले राष्ट्रियसभाको नियमावलीमा कुनै विषयमा छलफल चलिरहेको समयमा सम्बन्धित मन्त्री अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै मन्त्रीको उपस्थितिमा मात्रै बैठक सञ्चालन गर्न माग गर्नुभयो । उहाँले बुधबारको बैठकमा पनि आफूले यस विषयमा ध्यानाकर्षण गराएको र सत्तापक्षका सांसदले पनि यो विषयलाई उठाएको स्मरण गराउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *