सेवाका नाममा पशुपति गौशाला धर्मशालामा ब्रम्हलुट (भिडियो रिपोर्टसहित)

२३ जेठ २०८० काठमाडौं । राज्यको सम्पत्तिमा ब्रम्हलुट कसरी भैरहेको छ भन्ने गतिलो उदाहरण हो, काठमाडौंमा रहेको पशुपति गौशाला धर्मशाला । मारवाडी सेवा समितिले वर्षौदेखि हाकाहाकी राज्यको सम्पत्तिको दोहन मात्रै गरिरहेको छैन्, न्यूनतम भाडासमेत नदिएर वार्षिक लाखौं रुपैयाँ अकुत आर्जन गरिरहेको छ ।
काठमाडौंमा वार्षिक ५१ हजार रुपैयाँमा एउटा कोठा समेत भाडामा पाउन मुश्किल पर्छ । तर काठमाडौंको गौशालामा रहेको पशुपति क्षेत्र विकास कोषको नौ रोपनी नौ आना दुई पैसा जग्गामा मारवाडी सेवा समितिले मात्रै ५१ हजार रुपैयाँ वार्षिक तिरेर महिनामा लाखौं आर्जन गर्दै आएको छ । पटकपटक विभिन्न नाममा संरचना र व्यवसाय थप्दै आम्दानीको स्रोत बढाउँदै लगेको समितिले कुनकुन शीर्षकमा कति रकम आम्दानी गर्छ त ?
–धर्मशालाको मुख्य भवनमा १८ सटरमध्ये १६ सटर भाडामा
–सटरबाट वार्षिक आम्दानी – एक करोड रुपैयाँ
–संगैको भवनको एक सटरमा औषधि पसल सञ्चालन
–औषधि पसलको वार्षिक भाडा – ५४ लाख रुपैयाँ
–भवनभित्र एउटा साहकारी रेष्टुरेण्ट सञ्चालन
–रेष्टुरेन्टको वार्षिक भाडा – २४ लाख रुपैयाँ
–मुख्य भवनमा रहेका झण्डै १ सय ४२ कोठा गेष्ट हाउसको रुपमा सञ्चालन
–न्यूनतम दैनिक पाँच सय रुपैयाँका दरले राख्दा पनि वार्षिक आम्दानी भण्डै २ करोड ५६ लाख रुपैयाँ भन्दा बढी
–धर्मशालामा पालिएका गाईबाट दैनिक दूध बिक्री
–दूध बिक्रीबाट महिनाको साँढे चारलाखको दरले वार्षिक ५४ लाख रुपैयाँ
–धर्मशालामै मृर्गौला रोगीको डायलासिस सेवा सञ्चालन
–सरकारबाट डायलासिस सेवावापत प्रतिव्यक्ति २५ सय रुपैयाँ आम्दानी
यसरी मोटामोटी हिसाव गर्दा धर्मशालाको नाममा मारवाडी सेवा समितिले वार्षिक पाँच करोडभन्दा बढी आम्दानी गर्दै आएको छ ।
समितिले आम्दानी गरेपनि कोषलाई भने वार्षिक ५१ हजार रुपैयाँ दिँदै आएकोमा कोष पनि असन्तुष्ट छ । आफूहरुले पटकपटक समय सापेक्ष भाडा समायोजन गर्न आग्रह गर्दा पनि समितिले अटेर गरिहेको कोषको भनाइ छ । तर हटाउन सक्दैन । अहिले दिँदै आएको रकम पनि भाडा नभएर सहायताको नाममा दिने गरिएको कोषका कार्यकारी निर्देश्क घनश्याम खतिवडाले जानकारी दिनुभयो ।
अब गाईका लागि घाँस पराल, दाना र हेरचाह, कर्मचारी, बिजुली पानी, टेलिफोन लगायतका खर्च बढीमा एक करोड राख्दा पनि ४ करोड रुपैयाँ आम्दानी गर्ने समितिले बचेको रकम के मा खर्च गर्छ भन्ने गंभीर प्रश्न खडा भएको छ ।
पशुपति क्षेत्र विकास कोषको जग्गा हडपेर समाज सेवाको आवरणमा समितिले आम्दानी गरेको हिसाव किताव पारदर्शी हुनु पर्ने होला नि ? यस विषयमा धर्मशाला व्यवस्थापन गरिरहेको समितिका व्यक्तिलाई सम्पर्क गर्न खोज्दा उनीहरु सम्पर्कमै आउन चाहँदैनन् । धर्मशालाका नाममा गौशालामा भैरहेको ब्रम्हलुट हेर्दा लाग्छ, राज्य भन्दा माथि यहाँ मारवाडी सेवा समिति रहेको छ । नभए राज्यले उनीहरुलाई कानुनी दायरामा ल्याएर अहिलेसम्म गरेका आम्दानी र खर्चको यथार्थ सार्वजनिक गर्नु पर्छ ।
प्रतिक्रिया