Main News

प्रधानमन्त्रीको भ्रमण : के भयो, के छुट्यो ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० जेठ २० गते २०:५७
प्रधानमन्त्रीको भ्रमण : के भयो, के छुट्यो ? (भिडियो रिपोर्टसहित)

२० जेठ २०८० काठमाडौं । भारत जानुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भ्रमण ऐतिहासिक बनाउने घोषणा गर्नुभएको थियो ।

नेपाल–भारतबीचको सीमा समस्या, प्रवुद्ध समूहको प्रतिवेदन लगायतका विषयमा छलफल गर्न विपक्षी दलदेखि आमस्तरबाट सुझाव आएका थिए । तर, यी विषयमा सरकारले भारतसँग प्रस्ताव नै राख्न सकेन । पाँच मन्त्रीसहितको जथ्था लिएर दिल्ली पुगेका प्रचण्ड आज स्वदेश फर्किसक्नुभएको छ ।

उहाँको भ्रमणमा के भयो अनि के छुट्यो त ?
सँधै चासोमा रहने नेपालका प्रधानमन्त्रीको भारत भ्रमण यसवर्ष पनि चर्चामै रह्यो । चीनबाट आएको निम्तो थाँती राखेर पहिलो विदेश भ्रमण भारतबाटै शुरु गर्ने प्रचण्ड अठोट पूरा भएको छ । यो भ्रमणलाई जानकारहरुले उपलब्धिका हिसावले मध्यम रहेको टिप्प्णी गरेका छन् । तर, प्रधानमन्त्री प्रचण्ड स्वयं भने आफ्नो भ्रमण उपलब्धीपूर्ण रहेको दाबी गर्नुहुन्छ ।

यो भ्रमणमा के के भयो ?
१. नेपाल भारत पारवहन सम्झौता नविकरण
२. सीमापार पेट्रोलियम पाइपलाइन विस्तार
३. उर्जाव्यापारमा सम्झौता, १० वर्षमा १० हजार मेगावाट बिजुली आयातको प्रतिबद्धता
४. प्रसारणलाइन निर्माण
५. एकीकृत जाँच चौकी निर्माण
६. महाकाली नदीमा पक्की पुल निर्माण
७. अन्तरदेशीय भुक्तानीसम्बन्धी सम्झौता

के के छुटे ?
प्रधानमन्त्रीको भ्रमणका क्रममा केही विषय भने अझै अनुत्तरित नै रहे ।
१. पञ्चेश्वर जलविद्युत् परियोजना निर्माणको झमेला अझै टुंगिएन ।
२. सीमाको विषयमा भारतीय प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनमा कुरा गरेपनि भारत अतिक्रमित भूमि फिर्ताको विषय उठेन
३. नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह ९ईपीजी० को प्रतिवेदनबारे पनि छलफल भएन
४. गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा इन्स्ट्रुमेन्टल ल्याण्डिङ सिस्टम सञ्चालन गर्ने बाटो खुल्यो तर, हवाइ रुट अनुमति पाएन
५. भारतले संसदमा राखेको अखण्ड भारतमा परेको नेपाली भूमिका विषयमा कुरा उठेन

उसो त यसपटकको प्रधानमन्त्रीको भ्रमणका दौरान भएका सम्झौता र छलफल भन्दा अन्य विषय चर्चामा रहे । प्रधानमन्त्रीको जम्बो टोलीको आलोचना भयो । उज्जैन पुगेर प्रधानमन्त्रीले गेरुवस्त्र लगाएर महाकाल मन्दिरमा गरेको पूजापाठले धेरैलाई आश्चर्यमा पार्यो । प्रधानमन्त्रीसँगै रहेका ५ मन्त्रीको गेरुवा रुप पनि अहिले चर्चामा छ । सँधैको भ्रमणका जस्तै अस्तव्यस्तता यसपटक पनि दाहोरियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *