Main News

प्रधानमन्त्रीको दिल्ली दौडाहका अमिला दृष्य (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० जेठ २० गते २०:५२
प्रधानमन्त्रीको दिल्ली दौडाहका अमिला दृष्य (भिडियो रिपोर्टसहित)

२० जेठ २०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भ्रमणलाई ऐतिहासिक र उपलब्धिमूलक भने पनि भारतमा देखिएका केही दृश्य भने टिठलाग्दो थियो ।

प्रचण्डको स्वागतदेखि स्वदेश फिर्तिसम्म कयौं यस्ता घटना भए जसले नेपालको कूटनीति त असफल देखियो नै, हतारको काम लतरपतर भनेझै नेपालको तयार अझै कमजोर र दयनीय देखियो ।

भारत भ्रमणको सफलताबारे स्वयं प्रधानमन्त्री पुष्पकमद दाहाल प्रचण्ड ब्याख्या र आफ्नै प्रसंसामा ब्यस्त हुनुहुन्छ । तर उहाँ नेतृत्वको सरकारको कुटनीति भने भारतमा उदांगो भयो । अझ भारतस्थित नेपाली दुतावासमा कार्यरत परराष्ट्रका कर्मचारीलाई कुटनीतिबारे शिक्षा दिने गुरुहरुकै योग्यतामा प्रश्न उठाउनुपर्ने अवस्था देखियो । भारत भ्रमणका क्रममा नेपाल र नेपालीलाई बिझाउने केही दृश्यको यहाँ चर्चा गर्दै छौं ।

दृश्य– १ विमानस्थलमा विवाद
लावालस्करसहित नयाँ दिल्ली पुगेका प्रधानमन्त्रीलाई स्वागतका लागि नेपाली समुदाय र नेपालबाट नयाँदिल्ली पुगेका पत्रकार समाचार संकलनका लागि इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थल पुगे । सुरक्षा प्रोटोकल भन्दै भारतीय सुरक्षाकर्मीले पत्रकारलाई समाचार संकलनमा अवरोध गर्दा विवाद भयो । नेपालका पत्रकारलाई धक्कामुक्की गरेको दृश्य नेपाली राजदुत शंकर शर्माले देखेर पनि निरिह बन्नुपर्यो भने नेपाली समुदायले तयार पारेको भेषभुषासहितको पञ्चेबाजा बजाउन रोकियो ।

दृश्य–२ दूतावासको कमजोरी
सञ्चार माध्यमबाट आफ्ना प्रधानमन्त्रीको भ्रमणबारे जनतालाई सुचना दिलाउन गएका सञ्चारकर्मीले हैदरावाद हाउसको कार्यक्रम सकिने बेलामा मात्रै पास पाए । त्यो पनि प्रवासी नेपाली आरबी खड्काको पहलमा । राजदुत शंकर शर्मा र दुतावासका प्रेस हेर्ने रेवती रमण पौडेलदेखि काउन्सुलर यदुनाथ पौडेल र फस्ट सेक्रेटरी धना जोशीसम्म एक अर्कालाई देखाउदै पन्छिरहे । कतिसम्म भने नेपालको दुतावासमा नेपाली पत्रकारले लगेका ट्राइपोट समेत राख्न दिइएन । सूचना लिन बञ्चित गर्ने प्रयास भइरह्यो ।

दृश्य–३ मुख्यसचिव र सचिव गायब
प्रधानमन्त्री प्रचण्ड दिल्ली पुगेकै दिन आइटिसी मौर्य होटलको चौधौं तलामा भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेश सचिव विनयमोहन क्वात्रा एकैसाथ पुगे । तर लज्जाको विषय भने त्यहाँ देखियो । स्वागत गर्न बस्नुपर्ने नेपालका समकक्षी त्यहाँ थिएनन् । मुख्यसचिव शंकरदास वैरागी र परराष्ट्र सचिव भरतराज पौडेल डोभाल र क्वात्राको आगमनबारे बेखबर बन्दा स्वागत गर्न पुगिन् प्रधानमन्त्री पुत्री गंगा दाहाल । र बैठक सकिनै लाग्दा आइपुगे नेपाली कुटनीतिक कर्मचारी ।

दृश्य–४ एजेण्डाबारे मन्त्री नै अलमलमा
भ्रमण दलका नेताहरु नै एजेन्डाहरुबारे अनभिज्ञ थिए । परराष्ट्र मन्त्री एनपी साउदलाई एजेण्डाबारे प्रश्न गर्दा नेपालमै बोल्ने जवाफ दिएर पन्छिनुभयो भने केही महत्वपुर्ण भेटवार्तामा सहभागी नै हुनुभएन । शिष्टाचार महापाल अर्थात् भ्रमणमा चिफ अफ प्रोटोकलका रुपमा सुधीर भट्टराईकै हेलचक्राईंले कतिपय बैठकहरु फिक्का भए ।

दृश्य–५ समाधीस्थलमा सेल्फी
भ्रमण मण्डलका केही सदस्यलाई महात्मा गान्धीको समाधिस्थलमा गएर पनि फोटो खिच्ने रहर रोकिएन । राजघाटस्थित महात्मा गान्धीको समाधीस्थलमा प्रधानमन्त्रीले पुष्प अर्पण गरिरहेको बेला पनि नेपाली टोलीका अधिकांशले अशोभनीय शैलीमा मोबाइलबाट तस्बिर खिचिरहेका थिए । पूर्वराज्यमन्त्री गोविन्दबहादुर शाहले सेल्फी खिच्दा त्यो हर्कतले नेपालीलाई लज्जा बोध गरायो ।

दृश्य–६ प्रधानमन्त्रीलाई मात्रै चटारो
प्रधानमन्त्रीस्तरीय वार्तामा भारतका मुख्यसचिवसहित सरकारी अधिकारीहरु टिपोटमा ब्यस्त हुँदा नेपाली टोलीका मन्त्रीहरु रमिते मात्र बनेका देखिए । मुख्यसचिव र परराष्ट्र सचिव पनि अल्लारे झै देखिन्थे । अझ रोचक त भारतीय राष्ट्रपति द्रौपदी मुर्मु भेट्न प्रधानमन्त्री मौर्य होटलबाट प्रस्थान गर्ने निर्धारित समयमा केही उच्च अधिकारी नै छुटे । लबीमा केहीबेर कुरेका प्रचण्ड हिँडेको १५ मिनेटपछि मात्रै केही उच्च अधिकारी आइपुगे । अनि गंगा दाहाल नै हावी देखिइन् ।

दृश्य–७ प्रचण्डको पिताम्बर यात्रा
र अन्तिममा भारत भ्रमणका क्रममा प्रचण्डको हिन्दुरुप प्रकट भएको छ । दश वर्षे सशस्त्र युद्धको समयमा मन्दिर भत्काउँदै र पुजारी कुट्दै हिँडेको माओवादीका सुप्रिमो प्रचण्ड भारतकै रुचिमा मध्ये प्रदेशको उज्जैनमा पुग्दा गेरुवस्त्रधारी पुजारी जस्तै बन्नुभयो । भ्रमणमा गएका अन्य मन्त्री त बेद पढ्दै गरेका बटुकजस्ता देखिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *