Main News

प्रचण्डको गेरु वस्त्रधारणले उब्जाएका प्रश्नहरु… (भिडियो रिपोर्टसहित)

२०८० जेठ २० गते १७:५५
प्रचण्डको गेरु वस्त्रधारणले उब्जाएका प्रश्नहरु… (भिडियो रिपोर्टसहित)

२० जेठ २०८० काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा उज्जैनमा ‘गेरुवस्त्र’ धारण गर्नुभयो । केहीले यसलाई सामान्य रुपमा लिएका छन् भने लामो समय प्रचण्डसँग संगत गरेका र माओवादीलाई नजिकबाट नियाल्नेहरुले भने अस्वभाविक मानेका छन् ।

हुन् पनि, जनयुद्धताका र त्यसको आसपासमा दाहालले नेतृत्व गरेको माओवादीले धर्ममाथि जे जति ज्यादती गर्‍यो त्यसलाई हेर्दा प्रचण्डको ‘गेरुवस्त्र’ अवतार कल्पना बाहिरको लाग्छ । अझ भारतमा पुगेर गरेको ‘गेरुवस्त्र’ धारणले थप प्रश्न उब्जाएको छ ।

जनयुद्ध र त्यो आसपासको समयमा धर्ममाथि माओवादीले के(के गर्यो भन्नेभन्दा के चाहीँ बाँकी राखे भन्ने अवस्था थियो । माओवादीको नेतृत्व गरेका पुष्पकमल दाहाल प्रचण्ड जनयुद्धका सुप्रीमो हुनुहुन्थ्यो ।

प्रचण्डले नेतृत्व गरेको माओवादी कार्यकर्ताहरुले गाउँघरमा लगाइने सत्यनारायण पूजा भाँड्नेदेखि मन्दिरका पुजारीलाई दुर्व्यवहार पनि गरे । माओवादीले गोरखानाथका पुजारीलाई कालोमोसो दलिदिएको थियो । यतिमात्रै होइन, नेपालको राष्ट्रिय जनावर र हिन्दुधर्ममा पुजिने गाई काट्न पनि माओवादीले प्रोत्साहित गर्‍यो ।

माओवादीले हिन्दु धर्मावलम्बी ब्राह्मण–क्षेत्रको टुप्पी काट्ने, मन्दिरमा पिसाब गर्ने, विद्यालयबाट संस्कृत विषय हटाउने काम पनि गर्यो । धर्मगुरु नारायण पोखरेलको त हत्या नै गरिदियो । माओवादीको नेतृत्व गरेकाले यी सबैको गुण र दोष दुवै प्रचण्डको थाप्लोमा थुप्रनु पनि स्वभाविक छ । यतिका धेरै धर्मप्रति नास्तिक प्रचण्ड पुजा पाठ र मठ मन्दिर धाउनुहोला भन्ने सायदै कसैले सोचेको थिए ।

शुक्रबार प्रचण्डले यसको ठिक उल्टो गरिदिनुभयो । भारत भ्रमणका क्रममा प्रचण्डले मध्येप्रदेशको उज्जैनमा रहेको महाकालेश्वर मन्दिरमा ‘गेरुवस्त्र’ धारण गरेर पूजापाठ गर्नुभयो । यसले धेरैलाई चकित पारिदएको छ । प्रचण्डसँग जनयुद्धदेखि नै सारथी बनेका डा। बाबुराम भट्टराईले त सामाजिक सञ्जालमा पोष्ट गर्दै प्रचण्डको ‘गेरुवस्त्र’ धारणलाई ‘अस्वभाविक’ भन्नु भएको छ ।

भट्टराई मात्र होइन लामोसमयदेखि प्रचण्डलाई नजिकबाट नियालिरहेका, राजनीतिज्ञ, विज्ञ अनि आम नागरिकसमेत चकित छन् । हुन पनि कहिले जनयुद्धका नाममा माओवादीले धर्ममाथि जेजति प्रहार गर्‍यो त्यसले सनातनी पक्षधरहरुलाई गहिरो चोट पुर्‍याउन काफी भयो । अनि स्वयम् प्रचण्ड नै गेरु वस्त्र लगाएर मठ मन्दिर धाउनुहोला भन्ने कसलाई लागेको थियो होला र रु

भारत भ्रमणलाई अहिलेसम्मकै ‘सुपरहीट’ भन्नुभएका प्रचण्डको ‘गेरुवस्त्र’ धारणलाई शंकाको घेरामा समेत राखिएको छ । उहाँसंग दशकौं राजनीति गर्नुभएका बाबुराम भट्टराईले सामाजिक सञ्जालमा प्रचण्डले पूजाअर्चना गरेको तस्बिर राख्दै ‘देश कता जाँदै छ’ रु भने प्रश्न गर्नुभएको छ ।

२०७२ सालमा नेपालमा संविधान जारी गर्दा नै नेपाललाई हिन्दु राष्ट्र बनाउन दबाब दिएको भारत त्यसयता विभिन्न माध्यमको प्रयोगबाट नेपालमाथि हिन्दु राष्ट्रको दबाब कायमै राखेको छ । यतिबेला नै भारतमै पनि हिन्दु राष्ट्र बनाउने विषय जोडतोडका साथ उठिरहेको छ । स्वयम प्रधानमन्त्री नरेन्द्र मोदी धार्मिक अभियानमा हुनुहुन्छ ।

सम्भवतः भारतको आगामी निर्वाचनमा यसबारे ‘ठोस कदम’ चाल्न सक्ने संकेत देखिएको विश्लेषण हुन थालेको छ । भारत भ्रमणका क्रममा दुई प्रधानमन्त्री बीचको ‘वान–टु–वान’ वार्तामा मोदीले प्रचण्डलाई हिन्दु राष्ट्रको मुद्दा उठाउन भनेको भन्दै केही भारतीय संचार माध्यमले समाचार नै लेखेका छन् । त्यसैले प्रधानमन्त्री प्रचण्डले भारतमा गएर ‘गेरुवस्त्र’ धारण गर्दै मन्दिरमा पुजा गर्नुलाई के भारतको हिन्दुराष्ट्रको एजेण्डामा प्रचण्डले हरियो झण्डा देखाइदिनु भएको त होइन भन्ने प्रश्नसमेत उब्जिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *