Main News

कहिले बन्ला संसदको नयाँ भवन ? (भिडियो रिपोर्टसहित)

२०८० जेठ १९ गते २०:४०
कहिले बन्ला संसदको नयाँ भवन ? (भिडियो रिपोर्टसहित)

१९ जेठ २०८० काठमाडौं । सिंहदरबारमा रहेको संसद भवन साँघुरो भएपछि पहिलो संविधानसभामा निर्वाचित ६ सय १ सभासद बैठक बस्न नयाँ बानेश्वरमा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भाडामा लिइयो ।

त्यसयता अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नै संसद भवन बनेको छ । यो बीचमा सरकारले संसद भवनका लागि मात्रै अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई दुई अर्बभन्दा बढी रकम भाडा बापत् मात्र बुझासकेको छ । सिंहदरबारमा बनिरहेको नयाँ संसद भवन बजेट अभावका कारण समयमै सम्पन्न हुन सकिरहेको छैन ।

पहिलो संविधानसभाको निर्वाचनपछि २०६५ सालमा संसद सचिवालय र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबीच वार्षिक ६ करोड भाडा तिर्ने गरी सम्झौता भयो । यो सम्झौताअनुसार हरेक तीन वर्षमा १० प्रतिशत भाड बढाइने भयो । पछिल्लो पटक २०७९ मंसिर १३ गते अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र संसद सचिवालयबीच भएको सम्झौताअनुसार केन्द्रको भाडा वार्षिक १४ करोड ९८ लाख २९ हजार ७ सय ६ पुगिसकेको छ ।

हालसम्म संसद सचिवालयले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई २ अर्ब हाराहारीमा भाडा बुझाइसकेको छ ।

यतिबेला २ अर्ब हाराहारकै रकम अर्थ मन्त्रालयबाट निकासाका लागि स्वीकृत नहुँदा सिंहदरबारको पुतली बगैँचामा बनिरहेको नयाँ संसद भवनको काम सुस्त भएको छ ।

त्यसो त २०७६ असोज १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ संसद भवनको शिलान्याश गर्दा साढे २ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष थियो ।

सोही वर्षको असोज १६ गते भएको ठेक्का सम्झौतामा झण्डै ७ अर्ब रुपैयाँ लगानीमा २०७९ असोज १५ गते अर्थात् ३ वर्षमा भवन निर्माण सम्पन्न गर्ने उल्लेख गरिएको । तर ठेक्का लागेको झण्डै एक वर्षपछि मात्रै निर्माण सुरु भयो । बीचमा कोरोना महामारी लगायतका समस्या देखाएर ठेक्का अवधि ६ महिनालाई थप गर्दै २०७९ चैत ३० गतेसम्म पुर्‍याईयो । उक्त म्याद सकिएको पनि साढे एक महिनाभन्दा बढी भइसकेको छ । संसद भवन निर्माणको काम भने ६३ प्रतिशतमा पुगेर अड्किएको छ ।

हालै प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले निर्माणाधीन नयाँ संसद भवन आयोजनालाई काम छिटो सक्न निर्देशन दिनुभएको छ । तर आयोजना अर्थमन्त्रालयले बजेट उपलब्ध नगराएको भन्दै पूर्ण क्षमतामा काम गर्न नसकिएको बताउँछ । भवनको बाहिरी भागहरु सबै निर्माण भइसके पनि भित्रि भाग र बनाउनेदेखि इन्टेरियरको कामका लागि थप समय लाग्ने निश्चित देखिन्छ ।

एकातिर अर्थ मन्त्रालयले आर्थिक समस्या देखाएर नयाँ भवनका लागि बजेटको स्वीकृति दिन सकिरहेको छैन भने अर्कोतिर नयाँ बानेश्वरमा प्रयोग भइरहेको संसद भवनमा भने सरकारले भाडा खन्याएको खन्याएयै गर्नुपर्ने बाध्यता छ । जसका कारण सरकारले राखेको संसदको आगामी हिउँदे अधिवेशन नयाँ भवनमा सुरु गर्ने महत्वाकांक्षा पनि पूरा हुने सम्भावना न्यून देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *