Main News

इलिप्स स्कुलमा विद्यार्थीको रहस्यमय मृत्यु (भिडियो रिपोर्टसहित)

२०८० जेठ १७ गते २१:१४
इलिप्स स्कुलमा विद्यार्थीको रहस्यमय मृत्यु (भिडियो रिपोर्टसहित)

१७ जेठ २०८० काठमाडौं । काठमाडौंको नयाँ बजारस्थित इटरनल लाइट पब्लिक स्कुल इलिप्समा एक विद्यार्थीको रहस्यमय मृत्यु भएको छ ।

मंगलबार राति ५ कक्षामा अध्ययनरत धादिङ घर भएका अभिषेक तामाङको झुण्डिएको अवस्थामा शव भेटिएको छ । विद्यालयको होस्टेलमा बस्ने अभिषेकको होस्टेलकै कोठामा झुण्डिएको अवस्थामा शव भेटिएको हो ।

विद्यालयको होस्टेलमै रहस्यमय मृत्युवरण गरेका अभिषेकका आफन्त आक्रोशित छन्। उनीहरु विद्यालयको लापरबाहीका कारण अभिषेकको ज्यान गएको दाबी गर्छन् । पढाइको मात्र होइन खानपान र हेरचाह र अभिभावकत्वसमेत जिम्मेवारी लिएको विद्यालयमा आफ्नो भाइको मृत्यु भएको खबरले दिदी अम्बिका तामाङ विक्षिप्त छन् । अभिषेकले आत्महत्या गरेको दाबी विद्यालयले गरिरहँदा अम्बिकालाई अभिषेकले आत्महत्या गरेको नभई सुनियोजित हत्या भएको दाबी गर्छिन् ।

विद्यालयको होस्टेलमै विद्यार्थी मृत भेटिनु विद्यालय व्यवस्थापनको चरम लापरबाही हो । त्यसमाथि आफ्नै बेडमा झुण्डिएको भन्ने दाबी गरेर विद्यालय पन्छिन खोज्दा आफन्तले स्वभाविक रुपमा हत्याको आरोप लगाइरहेका छन् ।

अभिषेकको मृत्यु भएको खबर पाएपछि विद्यालयमा जम्मा भएका अभिभावक आक्रोशित छन्, विद्यालयको व्यवस्थापन पक्ष ढोका थुनेर बसिरहेको छ र प्रहरी घटनाको छानबिनमा भन्दा विद्यालयको व्यवस्थापन पक्षलाई जोगाउने ध्याउन्नमा छ ।

त्यसो त अभिषेकको मृत्युमा विद्यालयको दुरुत्साहनको आशंका गर्न मिल्ने प्रसस्तै ठाउँ छ । मृतक अभिषेक सुत्ने कोठामै बस्ने अर्का विद्यार्थीले होस्टेलमा अत्याचार हुने गरेको र मंगलबार राति पनि अभिषेकमाथि होस्टेल इन्चार्ज रायन सापकोटाले दुर्व्यवहार गरेको बताउँछन् ।

अभिषेक रहने कोठामा प्रशान्तसहित ७ जना बस्ने गरेका थिए । जसमध्ये केहीलाई विद्यलायले राति नै घर पठाएको छ । मृतक अभिषेक झुण्डिएको अवस्थामा भेटिएको दाबी गर्ने विद्यालयले त्रिवि शिक्षण अस्पतालमा शव लगेर राखेको र आफन्तलाई तस्बिर खिच्न नदिएको पीडित परिवारको दाबी छ ।

बुवा नभएका अभिषेककी आमा हाल वैदेशिक रोजगारीमा छन् । होस्टेलमा राखेर पढाइरहेको छोरोबारे नराम्रो समाचार सुनेपछि उनी नेपाल फर्किँदैछन् । यता अरु आफन्तहरु विद्यालय प्रशासनले आफूहरुसँग कुरा पनि गर्न नचाहेको, कुराकानीका लागि दबाब दिँदा प्रहरी लगाएर दमन गरेको र उल्टै पीडा दिएको गुनासो गर्छन् ।

विद्यार्थीको सम्पूर्ण अभिभावकत्व ग्रहण गरेर राम्रै पैसा लिने गरेको निजी विद्यालयमा विद्यार्थीहरुलाई यातना दिइने गरेको समाचार यसअघि पनि आउने गरेका थिए । यस घटनामा पनि विद्यालय प्रशासनको गैरजिम्मेवारी प्रष्टै देखिन्छ । होस्टेलमा बस्ने विद्यार्थीहरु होस्टेल इन्चार्जकै यातना, दबाब, डर धम्की लगायतले मृत्युवरण गर्न बाध्य देखिन्छन् । यसतर्फ प्रशासन मौन छ, कानूनी कारबाही कमजोर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *