Main News

प्रधानमन्त्री दाहाल नयाँ दिल्लीमा, राज्यमन्त्री लेखीद्वारा स्वागत (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० जेठ १७ गते १६:५६
प्रधानमन्त्री दाहाल नयाँ दिल्लीमा, राज्यमन्त्री लेखीद्वारा स्वागत (भिडियो रिपोर्टसहित)

१७ जेठ २०८० काठमाडौं । १७ जेठ २०८० काठमाडौं । चार दिने भारत भ्रमणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नयाँदिल्ली पुग्नु भएको छ ।

प्रधानमन्त्री प्रचण्डलाई भारतीय विदेश राज्‍यमन्त्री मिनाक्षी लेखीले स्वागत गर्नुभयो । प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्न विदेश राज्‍यमन्त्री लेखीसहित विदेश मन्त्रालयका अधिकारीहरु र दिल्लीस्थित नेपाली राजदूत शंकर शर्मा पनि विमानस्थलमा पुग्नुभएको थियो ।

प्रधानमन्त्री प्रचण्डको स्वागतमा विमानस्थल बाहिर सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो । टोलीमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्र मन्त्री एनपी साउद, अर्थ मन्त्री प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाललगायत हुनुहुन्छ ।

भ्रमणमा सरकारी र निजी क्षेत्रका गरी एक सयभन्दा बढी सहभागी छन् । भ्रमणमा विद्युत्, व्यापार, भौतिक पूर्वाधार तथा पारवाहनलगायत विषयमा सम्झौता हुने बताइएको छ।

प्रधानमन्त्रीसहितको टोलीलाई दिल्लीको चाणक्यपुरीस्थित आईटीसी मौर्य होटलमा रहनु हुनेछ। सोही होटलमा प्रधानमन्त्री प्रचण्डलाई भारतका विदेशमन्त्री एस जयशंकर, सुरक्षा सल्लाहकार अजित डोभल र विदेश सचिव विनयमोहन क्वात्राले भेट्ने कार्यक्रम छ। प्रधानमन्त्री प्रचण्डको औपचारिक कार्यक्रम भोलि बिहानबाट शुरु हुनेछ ।

भारतीय समकक्षी नरेन्द्र मोदीसँगको औपचारिक वार्ता दिल्लीस्थित हैदराबाद हाउसमा हुनेछ। त्यहाँ भारतसँग दुई देशमा हुने इ-पेमेन्टमा हस्ताक्षर हुनेछ। नेपाल र भारतबीच २५ वर्षका लागि विद्युत् खरिद सम्झौता, तल्लो अरुण र फुकोट कर्णाली जलविद्युत् विकास आयोजनाबारे उर्जा मन्त्रालयले सम्झौता गर्दैछ।

कञ्चनपुर र दार्चुला जिल्लाको महाकाली नदीमा चाँदनी दोधारा र झुलाघाट क्षेत्रमा पुलहरू निर्माण गर्न भौतिक पूर्वाधार मन्त्रालयले सम्झौता गर्दैछ। यस्तै, पेट्रोलियम पाइपलाइनसम्बन्धित विषयमा उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयले सम्झौता गर्दैछ। त्यसपछि राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जयदीप धनखडसँग शिष्टाचार भेटवार्ता गर्ने तयारी छ।

भ्रमणको तेस्रो दिन प्रधानमन्त्री दाहाल मध्यप्रदेशको उज्जैन प्रस्थान गर्नु हुनेछ । प्रचण्डले मध्यप्रदेशकै इन्दोरको पनि भ्रमण गरेर फोहोर व्यवस्थापनसम्बन्धी जानकारी लिनु हुने छ । उहाँले त्यहाँ सत्तारुढ भाजपा र भारतको हिन्दुबादी संगठन आरएसएसका नेताहरूसँग भेटघाटको कार्यक्रम रहेको छ। प्रधानमन्त्री प्रचण्ड जेठ २० गते स्वदेश फर्कनु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *